६ अर्बको सिभिल सहकारी ठगी प्रकरण : इच्छाराजकी श्रीमती जेल चलान – Nepal Press

६ अर्बको सिभिल सहकारी ठगी प्रकरण : इच्छाराजकी श्रीमती जेल चलान

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा बैंकर एवं घरजग्गा व्यवसायी इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छिन् ।

गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी श्रीमती शाक्यलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान भएकी हुन् । उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ ।

सो सहकारीको लेखा समिति सदस्यसमेत रहेकी शाक्यलाई तामाङले अंश दिलाएर अलग गराउन खोजे पनि ठगी मुद्दामा पक्राउ गरिएको थियो । बिहीबार राति ९ बजेसम्म अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले सहकारीबाट ठगिएको अर्बौं रकम लुकाउन श्रीमती शाक्य संलग्न भएको देखिएको भन्दै जेल चलानको आदेश दिएका हुन् ।

तामाङले सिभिल सहकारीबाट विनाधितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा श्रीमती सिर्जना शाक्य तामाङ र दुई छोरीलाई अंशबण्डा गरेको समेत खुलेको छ ।

१५ सय बचतकर्ताको करिब ६ अर्ब ठगी गरिएको उजुरी परेपछि गत १५ असोजमा श्रीमान तामाङ पक्राउ परेका थिए भने त्यसको करिब १ वर्षपछि श्रीमती शाक्य पक्राउ परेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *