वन कर्मचारीकै अगुवाईमा ओली सरकारले खारेज गरेको वैज्ञानिक वन व्यवस्थापन ब्युँताउँदै – Nepal Press

वन कर्मचारीकै अगुवाईमा ओली सरकारले खारेज गरेको वैज्ञानिक वन व्यवस्थापन ब्युँताउँदै

रुपन्देही ।केपी ओली नेतृत्वको सरकारले खारेज गरेको वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ ब्युँताउन रुपन्देहीमा गोप्य रुपमा भेला आयोजना गर्न लागिएको छ ।

कपिलवस्तुको डिएफओ विजयराज सुवेदीको अगुवाईमा बन्न लागेको यो महासंघ सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनको काउन्टरमा बनाउन लागिएको हो । साउन ७ गते दिउँसो रुपन्देहीको देवदहमा आयोजना गर्न यसको राष्ट्रिय भेला भनिएपनि गुपचुपमा गर्न लागिएको छ ।

यस क्षेत्रका सरोकारहरुले नेपालमा सामुदायिक वन क्षेत्रलाई कमजोर बनाउनेगरी यसलाई सक्रिय बनाउन थालिएको आरोप लगाएका छन् । तर वैज्ञानिक वनका क्षेत्रमा वकालत गर्नेहरुले भने वनकै संरक्षण गर्नका लागि यो संस्था बनाउन लागेको दावी गरेका छन् ।

कपिलवस्तुमा दर्ता भएको यो संस्थाको तदर्थ समितिले संघीय वन मन्त्रीलाई नै कार्यक्रममा आमन्त्रण गरेपनि पछि विवादित भइने डरले उनी आउन नचाहेको स्रोतले बताएको छ । संघीय मन्त्री नआउने भएपछि शुक्रबार अबेर लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाललाई यसको प्रमुख अतिथि निम्त्याइएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले समुदायको अधिकार खोसेर वनका कर्मचारी मोटाउनेगरी अघिल्लो सरकारले खारेज गरेको कामलाई अगाडि सारिएको आरोप लगाएका छन् ।

‘यसमा वनका कर्मचारीले नै अगुवाई गरेका छन्, अघिल्लो सरकारले यसलाई सबै अध्ययन गरेर नै खारेज गरेको हो, यसको विधि नै गलत छ, यसबाट बनका कर्मचारी नै मोटाउने हुन् र केही यसका अगुवालाई फाइदा पुग्ने हो, उपभोक्तालाई हामीले सचेत बनाएकै छौं’ उनले भने ।

वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघको तदर्थ समितिका संयोजक रेनु सेनले भने यो वन संरक्षणकै लागि बनाउन थालेको दावी गरिन् । ‘हामीले ७५ जिल्लामा समिति बनाएका छौं, सबै जिल्लाबाट प्रतिनिधि आउँदै हुनुहुन्छ, गोप्य होइन, सबैलाई समयमा सूचना दिन नसकिएको हो,सुरुमा छौं सबै कुरा सिक्दै छौं’ उनले भनिन् ।

तर उनकै तदर्थ समितिमा रहेका व्यक्तिहरुले सेनले आफूसँग नजिक रहेकाहरुलाई मात्र प्रतिनिधि बनाएको ६० जिल्लाका सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन गरेपनि ३० जिल्लाका सीमित प्रतिनिधि बोलाएको र गुपचुपमा राष्ट्रिय महाधिवेशन गर्न लागेको आरोप लगाएका छन् ।

नयाँ नेतृत्वका लागि हाल तदर्थ समिति अध्यक्ष रहेकी सेन नै नेतृत्वका लागि इच्छुक रहेकी छन् । तर उनलाई नेतृत्वमा आउन नदिन उनी यसअघि मुद्दामा मुछिएर अख्तियारमा पुगेको विषयलाई उठाउने भएका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित श्रृंङगीघाट सामुदायिक वनको अध्यक्ष रहेको बेला सेनले २०७७ भदौमा ९ सय ४० क्यूफिट काठ चोरेको आरोप छ । ‘यो मुद्दा अझै सल्टिएको छैन, उहाँलाई नेतृत्व दिँदा यो संस्था नै विवादित बन्नजान्छ’ तदर्थ समितिका एक सदस्यले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर