ओलीको आरोपः आफ्नै पार्टीका नेताहरुलाई फाँसी दिँइदा कांग्रेसले सहिद मानेन (भिडिओ) – Nepal Press

ओलीको आरोपः आफ्नै पार्टीका नेताहरुलाई फाँसी दिँइदा कांग्रेसले सहिद मानेन (भिडिओ)

‘भिमदत्त पन्तको टाउको कटाएको कांग्रेसले हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान नदिएको गुनासो गरेका छन् । सहिद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको उनले आरोप लगाए ।

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा ओलीले भने, ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भिमदत्तलाई सहिद मान्दैन ।’

भिमदत्त र विद्यार्थी नेता चिनिया काजीको नाम लिँदा कांग्रेसलाई सिरिंग हुने ओलीको टिप्पणी थियो । दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी कांग्रेसले नलिएको पनि उनले बताए ।

‘दुर्गानन्द झालाई राजामाथि बम हानेको भनेर फाँसी दिइएको थियो । उनले बम हानेका थिए कि थिएनन् त्यो बेग्लै कुरा हो । हानेका थिए भने त्यो कांग्रेसकै कार्यकर्ताका रुपमा परिवर्तनका लागि हानेका थिए । तर कांग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन,’ ओलीले भने ।

कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भिम नारायण श्रेष्ठहरु सहिद भनेको भए पनि कांग्रेसले उनीहरुलाई नसम्झिने गरेको पनि ओलीको आरोप छ ।

‘सत्ता स्वार्थका कारण कांग्रेसले आफ्नै आदरणीय नेताहरुलाई फाँसी दिइँदा वक्तव्यसम्म जारी गर्न सकेन । सामान्य प्रतिक्रिया पनि दिन सकेन,’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर