गभर्नरको राजीनामा माग्दै सत्तारुढ विद्यार्थीले पठाए सांसदलाई एसएमएस (फोटोफिचर/भिडिओ) – Nepal Press

गभर्नरको राजीनामा माग्दै सत्तारुढ विद्यार्थीले पठाए सांसदलाई एसएमएस (फोटोफिचर/भिडिओ)

काठमाडौं । सत्तारुढ दल निकट संयुक्त विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सांसदहरुलाई एसएमएस पठाएका छन् ।

शनिबार आर. आर. क्याम्पस अगाडि भेला भएर विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, सुजता कोइराला तथा गगन थापासहितका सांसदहरुलाई एसएमएस पठाएका हुन् ।

सत्तारुढ नेपाल कांग्रेस निकट नेवि संघ, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र एकीकृत समाजवादीकाे अनेरास्ववियुले सांसदहरुलाई एसएमएस पठाएका हुन् । उनीहरुले गभर्नर अवैध भएको दावी गर्दै अधिकारीको राजीनामाका लागि दबाब दिएका हुन् ।

देउवालाई पठाइएको एसएमएसमा लेखिएको छ, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को उपदफा (क) मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति ‘राजनैतिक दलको सदस्य वा पदाधिकारी’ भएमा नियुक्त हुन अयोग्य हुने छ । भन्ने व्यवस्थाअनुसार नेकपा (एमालेका) अर्थ तथा योजना विभाग सदस्य महाप्रसाद अधिकारी अवैध रुपमा गभर्नर पदमा आसीन छन् । उहाँलाई अहिलेसम्मको सेवा सुविधा फिर्ता गरी तुरुन्तै बर्खास्तीको लागि निर्णायक पहल लिन माननीयज्युलाई संयुक्त विधार्थी संगठन हार्दिक अपिल गर्दछ ।’

यसअघि साउन ५ मा पनि विद्यार्थीहरुले माइतीघर मण्डला तथा राष्ट्र बैंक परिसरमा विभिन्न कार्टुन बनाएर गभर्नर अधिकारीको राजीनमा माग गर्दै प्रदर्शन गरेका थिए ।

नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी नाम उल्लेख भएपछि गभर्नर विवादमा तानिएका हुन् । विभागमा लेखिएकाे एम अधिकारी गभर्नर नै भएकाे भन्दै सत्तारुढ दलले विरोध जनाउँदै आएका छन् । यद्यपि गभर्नर अधिकारीले त्यो व्यक्ति आफू नभएको जनाइसकेका छन् भने एमालेले पनि विभागमा रहेका एम अधिकारी गभर्नर नभइ अरु कोही भएको स्पष्ट पारिसकेको छ ।

तस्वीरहरुः गौरव पौडेल


प्रतिक्रिया

One thought on “गभर्नरको राजीनामा माग्दै सत्तारुढ विद्यार्थीले पठाए सांसदलाई एसएमएस (फोटोफिचर/भिडिओ)

  1. लुटेरा र भ्रष्टाचारीको पैसा खाएर गरेको हर्कत। पेशेवर गुण्डा र यिनमा के फरक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *