निजीकरण गरिएका उद्योगहरुको अवस्था सदनलाई जानकारी गराइयोस् : शेरबहादुर तामाङ
काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले निजीकरण गरिएका उद्योगहरुको अवस्था सदनलाई जानकारी गराउन माग गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले संसदीय समिति नै बनाएर निजीकरण गरिएका उद्योगहरु के कस्तो अवस्थामा छन् संदनलाई जानकारी गराउन माग गरेका हुन् ।
२०४८ मा गठन भएको नेपाली कांग्रेस नेतृत्वको सरकारले बेलायतको पूवप्रधानमन्त्री मार्गरेट थ्याचरको निजीकरणको नीतिलाई नेपालमा अनुसरण गरिएको भन्दै उनले भने, ‘डीएफआइडी भन्ने संस्थाको सहयोगमा नेपालका चार दर्जनभन्दा धेरै उद्योगहरु निजीकरण गरिएको थियो । र यी उद्योगहरु निजीकरण गरिए पछाडि त्यसको प्रतिफल के भयो भन्दा औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतभन्दा तल झरिसकेको छ । र ८० लाखभन्दा बढी नेपालीहरु वैदेशिक श्रममा जान बाध्य छन् । त्यस्तै, निजीकरण उद्योगहरु के कस्तो अवस्थामा छन्, यो संसदलाई संसदीय समिति नै बनाएर एकचोटि छानबिन गरौँ ।’