मधेसको स्थायी संरचना र प्रहरी समायोजनलगायतको विषयमा गठबन्धनको ध्यानाकर्षण – Nepal Press

मधेसको स्थायी संरचना र प्रहरी समायोजनलगायतको विषयमा गठबन्धनको ध्यानाकर्षण

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रदेशको स्थायी संरचना निर्माण र प्रहरी समायोजनलगायतको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत गठबन्धनको शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराएको छ ।

मधेस राजधानीको भौतिक संरचना निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न सरकारले समिति गठन गरेको थियो । उक्त समितिले सरकारी संरचना रहेको मधेस भवन (जनकपुर चुरोट कारखाना) र प्रदेशसभा रहेको स्थल लगायतका स्थानहरूमा स्थायी संरचना निर्माणका लागि सिफारिस गरिएका जग्गाहरु प्रदेश सरकारको नाउँमा हस्तान्तरण गर्न मुख्यमन्त्री राउतले प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन् ।

स्थायी भौतिक संरचनाका लागि समेत चाहिने आर्थिक श्रोत व्यवस्थापन पनि गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरिएको छ ।

संवैधानिक तथा कानूनी व्यवस्थाको आधारमा अगामी निर्वाचन अगावै नै प्रहरी समायोजन गरी हस्तारण गर्न तथा जिल्ला प्रशासनलाई प्रदेश सरकार मातहत ल्याउन आवश्यक निर्णय तथा निर्देशन दिइ पहल गरीदिन पनि अनुरोध गरिएको छ।

नेपालको संविधानको धारा २६८ले प्रदेश प्रहरी सङ्गठनको व्यवस्था गरेको तथा अनुसूची ६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षासम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार सूचीभित्र रहेको मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउन पुगेका मुख्यमन्त्री राउतसंगै प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादव, गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, ऊर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्मा, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह, उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा पनि थिए ।

उनीहरूले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई पनि मागहरू पूरा गर्न पहल गरिदिन मुख्यमन्त्री राउतको टोलीले ज्ञापन पत्र बुझाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर