नेपालबाट स्क्याम नोटिफिकेसन पठाई ७ सय अमेरिकीलाई ठगी – Nepal Press

नेपालबाट स्क्याम नोटिफिकेसन पठाई ७ सय अमेरिकीलाई ठगी

काठमाडौं । विदेशीलाई स्क्याम नोटिफिकेसन पठाएर बैंक खाताबाट पैसा झिक्ने गिरोहले ७ सय अमेरिकी नागरिकलाई पीडित बनाएकाे खुलेकाे छ ।

साइबर ब्युरोका अनुसार गत महिना पक्राउ परेका १३ जनामाथि अनुसन्धान गर्ने क्रममा मात्र ६ सय ८२ जना पीडितको पहिचान खुलेको थियो ।

प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोगपत्र दर्ता गरेकामध्ये २ जना मुद्दा पुर्पक्षका लागि थुनामा गएका छन् भने एक जनासँग तीन लाख र अन्य तीन जनासँग जनहीँ १० हजार रुपैयाँ धरौटी मागिएको छ । अन्य ८ जना भने साधारण तारेखमा छन् । थुनामा गएका दुवै आरोपी भारतीय नागरिक हुन् ।

कल सेन्टरको आवरणमा गिरोहले नेपालबाट पीडितको बैंक खाताबारे जानकारी लिने र त्यसबाट भारतमा रहेको गिरोहले पैसा झिक्ने गरेको अनुसन्धानमा खुलेको थियो ।

कम्प्युटरलगायतका डिभाइसमा कुनै समस्या रहेको नोटिफिकेसन देखाएर आफूलाई माइक्रोसफ्ट कम्पनीको प्रतिनिधि बताई गिरोहले ठगी गरेको ब्युरोको दाबी थियो ।

३ लाख रुपैयाँ धरौटी मागिएका व्यक्ति अर्बिट नेक्सस प्रालीका सन्चालक विजय श्रेष्ठ रहेका छन् । सामाखुसी बस्दै आएका भारतीय नागरिकद्वय ३२ वर्षीय निसान खैरे र २४ वर्षीय मनिष तिवारी कारागार चलान भएका हुन् । विजय सन्चालक भएपनि खैरे र तिवारी नै नेपालबाट धन्धा चलाउने मुख्य व्यक्ती भएको प्रहरीको दाबी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *