अछाम पहिरो: उद्धार र राहतका लागि गृहमन्त्रीको निर्देशन – Nepal Press

अछाम पहिरो: उद्धार र राहतका लागि गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिदै घाइतेको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षका संविधान विष्टको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मरासिनीले गृहमन्त्रीलाई जानकारी गराएका छन् । ६५ वर्षका नैना विष्टको भने जिवितै उद्धार गरेर अस्पताल पुर्याइएको मरासिनीले बताए । उनको अवस्था सामान्य रहेको छ ।

पहिरोमा पुरिएर केही पशु चौपायाको पनि मरेकाे प्रजिअ मरासिनीले जानकारी दिए । घरमुली अमर भने कामका सिलसिलामा घर बाहिर रहेको जानकारी आएको र अहिले पहिरो रोकिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर