गोटाबाया राजापाक्षेको पक्राउ माग गर्दै सिगांपुरमा उजुरी दर्ता – Nepal Press

गोटाबाया राजापाक्षेको पक्राउ माग गर्दै सिगांपुरमा उजुरी दर्ता

काठमाडौं । चरमआर्थिक संकटकाबीचमा भागेर सिगांपुर पुगेका श्रीलंकाका भूतपूर्व राष्ट्रपति राजापाक्षे गोटाबायालाई गिरफ्तार गर्ने माग गर्दै सिगांपुरमा उजुरी दर्ता भएको छ ।

सञ्चार माध्यम एसोसीएट प्रेस (एपी) ले जनाए अनुसार दक्षिण अफ्रिकाबाट संचालित एक मानव अधिकार समूहले गृहयुद्धको समयमा गोटाबायाले युद्द अपराध गरेको भन्दै तत्काल गिरफ्तारी माग गर्दै उजुरी दर्ता गरेको हो ।

२००९ मा अन्त्य भएको उक्त गृहयुद्धको समयमा गोटाबाया श्रीलंकाका रक्षा सचिव थिए । ‘इन्टेरनेशनल ट्रुथ एण्ड जस्टिस’ नामक उक्त संस्थाले उजुरीमा राजापाक्षेले गृहयुद्धको समयमा जेनेभा महासन्धिको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ ।

वर्तमान समयमा चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको वास्तविक पतनको बाटो तत्कालिन गृहयुद्दको समयमा गम्भीर अन्तर्राष्ट्रिय अपराधहरूका लागि संरचनात्मक दण्डहीनतासँग जोडिएको इन्टेरनेशनल ट्रुथ एण्ड जस्टिसकी निर्देशक यासमिन सुकाको भनाई छ ।

‘भ्रष्टाचार र आर्थिक कुव्यवस्थापन मात्र नभई यस् उजुरीले सामूहिक अत्याचार र अपराधको विषयमा पनि जवाफदायिताको माग गर्छ ।’ सुकालाई उध्रीदत गर्दै एपीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको एक रिपोर्टका अनुसार तत्कालिन गृहयुद्दमा एक लाखभन्दा बढी मानिसले ज्यान गुमाएको र त्यसमध्ये ४० हजार अल्पसंख्यक तामिल समुदायको हत्या युद्दको अन्तिम एक महिनामा मात्र भएको जनाएको छ ।

वास्तवमा भने सो गृहयुद्दमा उक्त संख्या बाहेकका थप धेरै मानिसको हत्या भएको चर्चा हुने गर्छ । श्रीलंकामा तमिल टाइगर्स रेबेल्स नामक समूहले स्वतन्त्र तमिल राज्यको माग गर्दै गृहयुद्द सुरु गरेको थियो । उक्त समूहलाई पराजित गर्न राजपाक्षे परिवारले युद्द अपराध गरेको अन्तर्राष्टिय समूहको दाबी छ यद्यपी सत्ताकै वरिपरी रहेको राजापाक्षे परिवारले भने उक्त युद्दलाई अत्यन्तै शान्तिपूर्ण ढगंबाट अन्त्य गरेको दाबी गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर