काठमाडौं-मधेस फास्ट ट्रयाक समयमै सक्न संसदीय समितिको निर्देशन (भिडिओ) – Nepal Press

काठमाडौं-मधेस फास्ट ट्रयाक समयमै सक्न संसदीय समितिको निर्देशन (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको काठमाडौं-मधेस फास्ट ट्रयाक काम समयमा नै सम्पन्न गर्नका लागि ठोस कार्यातालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले अहिलको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा समिति विश्वस्त नदेखिएको भन्दै आयोजनाको लागत नबढ्ने गरी समयमा नै आयोजनालाई सम्पन्न गर्ने गरी विश्वसनीय आधारसहितको ठोस कार्यातालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले उक्त कार्यतालिका यथाशीघ्र समितिलाई उपलब्ध गराउन मन्त्रीपरिषद कार्यालय, रक्षा मन्त्रालय र सम्वद्ध आयोजनाहरुलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै, बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा यसका वातावरणीय पक्षहरुको कार्यान्वयनको वर्तमान अवस्था र आयोजनाको तेश्रो पक्षबाट हुने अनुगमनको कार्यान्वयनको जानकारी १५ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको सभापति खड्काले बताइन् ।

बैठकमा काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले आयोजना अन्तर्गत विभिन्न खण्डमा ठेक्का लगाएर काम भइरहेको जानकारी दिए । उनले आयोजना निर्माण गर्दा वातावरणीय प्रभावलाई पनि सेनाले मध्यनजर गरेको दाबी गरे ।

समिति सदस्यहरुले आयोजनाको निर्माण गति निकै सुस्त भएको भन्दै आयोजना निर्माणमा देखिएका जटिलतालाई हटाएर निर्माण कार्यलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए ।

२०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको बहुप्रतिक्षित एशियन हाइ–वे मापदण्डको राष्ट्रिय गौरवको उक्त आयोजनाको हालम्म २१ दशमलव १८ प्रतिशत मात्रे समस्टिगत प्रगति भएको छ भने पूर्वनिधारित कार्यतालिका बमोजिम हालसम्म ठेक्का व्यवस्थापनका कार्यहरु अघि बढ्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर