सरकारले गर्यो संघीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा
काठमाडौं । सरकारले सबै संघीय निजामती कर्मचारीको ६ महिनाका लागि १० लाखको सामूहिक दुर्घटना बीमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सहकार्यमा सामूहिक दुर्घटना बीमा गरिएको हो । बीमा अवधि २०७९ भदौ २० सम्म रहेको छ ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले यो सुविधा सम्बन्धी व्यवस्थाको जानकारी नभएका कारण जोकोही सुविधाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले मन्त्रालयले भर्खरै एक सूचना पनि जारी गरेको बताए ।
संघीय निजामती कर्मचारीको दुर्घटना भई मृत्यु, स्थायी पूर्ण अशक्तता, स्थायी आंशिक अशक्तता, अस्थायी पूर्ण अशक्तता र औषधी उपचार गर्नु परेमा बीमाको सुविधाबमोजिम औषधी उपचार बापत एक लाखसम्म र मृत्युको हकमा बीमा बापत १० लाखसम्मको सुविधा प्राप्त हुने मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।
यदि कुनै दुर्घटना भएको भए सम्बद्ध कर्मचारीले दुर्घटना भएको मितिले ३५ दिनभित्र राष्ट्रिय बीमा कम्पनी वा मातहतका कार्यालय एवं यस मन्त्रालयलाई जानकारी गराउन मन्त्रालयको कर्मचारी कल्याण शाखाले अनुरोध गरेको छ ।