भदौ १ बाट ४० माइक्राेनभन्दा पातला प्लाष्टिक झोला उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध
काठमाडौं । आगामी भदौ १ गतेबाट पातलो प्लाष्टिकको झोला प्रयोग गर्न नपाइने भएको छ । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिबन्ध लगाउने भएको हो ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले एक सूचना प्रकाशित गर्दै भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने जनाएको छ ।
सरकारको निर्णयविपरीत ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग, उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।
यसअघि पनि सरकारले प्लाष्टिकको झोलाको प्रयोग प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन ।