प्लाष्टिकका फूल बिक्री वितरणमा रोक
फ्लोरिकल्चर एसोसियसनद्वारा स्वागत
काठमाडौं । वन मन्त्रालयले प्लाटिकका फूल बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । सोमबार वनमन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएका हुन् ।
मन्त्री यादवले नेपाल प्रेससँग भने, ‘प्लाष्टिकजन्य फूलका कारण वातावरणमा धेरै असर पर्यो । फोहोर व्यवस्थापनमा पनि समस्या भयो । प्राकृतिक फूल उत्पादन तथा बिक्री वितरणमा पनि कमी आएपछि यो निर्णय गर्नुपरेको हो ।’
मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेले मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर कानुन मन्त्रालयमा पठाएको नेपाल प्रेससँग बताए । उनले भने, ‘मन्त्रीस्तरीय निर्णय भएको हो । निर्णय कानुन मन्त्रालयमा पठाएको छ । राजपत्रमा प्रकाशित भएपछि लागू हुन्छ ।’
फ्लोरिकल्चर एसोसियसन नेपालले प्लाष्टिकका फूल आयात, निर्यात तथा बिक्री वितरणमा रोक लगाउने मन्त्रीस्तरीय निर्णयको स्वागत गरेको छ । संस्थाका अध्यक्ष मीनबहादुर तामाङले भने, ‘यो एकदमै राम्रो निर्णय भयो । हामीले पहिलेदेखि नै उठाउँदै आएका थियौं ।’