देशभर चोरीका घटना बढ्यो
काठमाडौं । देशभर चोरीका घटना बढेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो १२ महिनामा देशभर ३ हजार १८८ वटा चोरीका घटना भएको छ ।
यो तथ्यांक प्रहरी कार्यालयमा दर्ता भएका जाहेरीमा आधारित हो । आर्थिक वर्ष ०७७/७८ मा देशभर २ हजार ३ सय ८२ वटा चोरीका घटना भएका थिए । गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मात्र ६ सय ५९ वटा घटना भएका छन् । अघिल्लो वर्षको तुलनामा करिब ३३ प्रतिशत घटना वृद्धि भएको हो ।
प्रदेश १ मा ६६०, मधेसमा ६८२, वागमतीमा २६५, गण्डकीमा २०९, लुम्बिनीमा ४४६, कर्णालीमा ८९ र सुदूरपश्चिम प्रदेशमा १७७ वटा चोरीका घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यसमा डाका चोरीका १५९, नकबजनी चोरीका ११९, साधारण चोरीका २ हजार ५८७, सवारी चोरीका २८६, पुरातात्विक चोरीका २ र चौपाया चोरीका ३१ घटना छन् । यी तथ्यांकमा चोरीका निवेदनको संख्या भने समावेश छैन । मुद्दाको प्रकृयामा अगाडि बढेका घटना मात्र समेटिएको छ ।