संसदबाहिरका ४ कम्युनिष्ट पार्टीद्वारा आन्दोलन घोषणा – Nepal Press

संसदबाहिरका ४ कम्युनिष्ट पार्टीद्वारा आन्दोलन घोषणा

कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकताको आह्वान

काठमाडौं । संसद् बाहिर रहेका ४ कम्युनिष्ट पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

देशमा विद्यमान राष्ट्रिय स्वाधीनता, राजनीतिक तथा आर्थिक क्षेत्रमा बढ्दै गएको आर्थिक संकट, यसअघि विप्लव नेतृत्वको नेकपासँग दुवै सरकारले गरेको वार्ताको सहमति कार्यान्वयनलगायतका विषयमा खबरदारी गर्न आन्दोलनमा जानुपरेको उनीहरूले जनाएका छन् ।

विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरूले मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै पहिलो चरणमा साउन १० गते पत्रकार सम्मेलन, १२ गते देशव्यापी कोणसभा गर्ने, १५ गते मसाल जुलुस प्रदर्शन गर्ने, १८ गते काठमाण्डौमा अन्तरक्रिया गर्ने र २१ गते प्रदेश सदरमुकाम तथा काठमाण्डौमा विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

जारी विज्ञप्तिमा सरकारले गरेको एमसीसी कार्यान्वयनले बढाएको सैन्य हस्तक्षेप, एसपीपीको कार्यान्वयन गर्ने रणनीतिक तयारीले राष्ट्रियतामाथिको हस्तक्षेप भएकाले सबै नागरिकलाई सचेत बनाउने आन्दोलनको उद्देश्य रहेको र कम्युनिष्ट पार्टीहरूको कार्यगत एकतालाई ध्यान दिँदै त्यो प्रक्रियामा सामेल हुन आव्हान गरिएको छ ।

नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुति, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा कम्युनिष्ट पार्टीका महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको कार्यगत एकतालाई विशेष जोड दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर