सूचना नदिने त्रिविका परीक्षा नियन्त्रक जाेशीमाथि कारबाही – Nepal Press

सूचना नदिने त्रिविका परीक्षा नियन्त्रक जाेशीमाथि कारबाही

काठमाडौं । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका प्रमुखमाथि सूचना नदिएकोमा कारबाही गरेको छ ।

त्रिविअन्तर्गतकाे पनिका बल्खु कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको आयोगको सूचना आयुक्त कमला ओली थापाले जनाएकी छन् ।

आयोगले पनिकामा रौतहट मलोहिया–५ निवासी राजीव दासले माग गरेको सूचना उपलब्ध नगराएबापत जोशीलाई कारबही गरिएको जनाएको छ ।

दासले मागेको सूचना सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (३) भित्र पर्ने विषय नभएको हुँदा सूचना माग गर्दा नै तत्काल उपलब्ध गराउनुपर्ने देखिने ठहर गर्दै सूचना माग्नेले राष्ट्रिय सूचना आयोगसमक्ष पुनरावेदन गर्न आउनुपर्ने अवस्था सिर्जना नहुनुपर्ने जनाएको छ ।

दासले आयोगमा निवदेन दिएपछि आयोगबाट त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुखका नाममा पटक-पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश गरिएको तर पनि सूचना मागकर्तालाई सूचना उपलब्ध नगराइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै पनिका प्रमुखलाई २०७८ फागुन ९ गते लिखित जवाफ पेश गर्न आयोगले आदेश गर्दा पनि कुनै जवाफ नआएको आयोगको भनाइ छ ।

संविधानको धारा २७ मा ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भन्ने उल्लेख भएको र सोही व्यवस्थाको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको आयोगको विज्ञप्तिमा भनिएको छ ।

उक्त ऐनको दफा ३ को उपदफा (१) मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुने र उपदफा (२) मा प्रत्येक नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भन्ने उल्लेख छ ।

आयोगले प्रमुखविरुद्ध नगदसहित अन्य आदेश पनि जारी गरेको छ । आयोगले जोशीलाई नगद भुक्तान गरी काठमाडौं प्रमुख जिल्ला अधिकारीलाई लेखेर पठाउन आदेश दिएको छ ।

त्यस्तै, सूचना मागकर्तालाई आवश्यक सूचना उपलब्ध गराउन पनि आयोगले भनेको छ । प्रमुख जोशीलाई विभागीय कारबाही गरी त्यसको सूचना आयोगलाई पठाउन पनि आदेश गरेको छ । निर्णय चित्त नबुझेमा ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न आयाेगले जाेशीलाई सुझाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर