५०-५० हजारमा भारतीयलाई सुपारी दिएर दाइभाउजुले गरे दम्पत्तिको हत्या – Nepal Press

५०-५० हजारमा भारतीयलाई सुपारी दिएर दाइभाउजुले गरे दम्पत्तिको हत्या

रुपन्देही । आफ्नो सहोदर दाजु भाउजूको योजनामा बाँकेको कोहलपुर १४ पार्वतीपुरमा एक दम्पतीको हत्या भएको खुलेको छ ।

मंगलबार बिहान मृत भेटिएका दम्पतीको सहोदर दाजु भाउजूको योजनामा हत्या भएको खुलेको हो । २५ वर्षीय श्रीमान् कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको मृतक कृष्णका दाई भाउजूले मान्छे लगाएर हत्या गरेको उनीहरूले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

कृष्णका दाइ विजय र भाउजू रेखाले भारतबाट दुई जना कनट्र्याक्ट किलरलाई बोलाएर हत्या गराएको इलाका प्रहरी कार्यालय कोहलपुरले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

उनीहरूको हत्या गर्न भारतबाट ५०-५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र उनीहरूले नै मध्य राती दाइ विजयको उपस्थितिमा हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ ।

गए राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको र हत्याको समयमा विजय स्वयम् उपस्थित रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले नेपाल प्रेसलाई बताए ।

‘घटना लगत्तै प्रहरीले मृतकका सहोदर दाइ विजयलाई नियन्त्रण लिई सोधपुछ गरिएको र प्रारम्भिक अनुसन्धानमै मृतकका दाजुले हत्या स्वीकार गरेकाले थप अनुसन्धान सुरु गरेका छौँ‘– डिएसपी न्यौपानेले भने ।

कृष्ण दप्पतीको शव फेला पर्दा मृतकका दाजु र भाउजू सोही घरको छतमा सुतेको बताइएको थियो ।

कृष्णको दायाँ नाडीको नशा काटिएको र अञ्जलीको घाँटीमा डोरीले बेरेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।

भाइबुहारी अञ्जलिले बाबुसँग मिलेर आफूलाई हेला गर्ने गरेकाले हत्याको योजना बनाएको विजयले प्रहरी समक्ष बयान दिएको डीएसपी न्यौपानेले बताए ।

‘त्यति ठूलो रिसिबी पनि देखिएको छैन, तर हत्याको सबै योजना बनाएको स्वीकार मृतकका दाजुले नै गरेका छन्, थप अनुसन्धानमा सबै खुल्ला,’ न्यौपानेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *