घरघडेरी बेचेर कृषि कर्ममा होमिएका वीरबहादुरको वीरताको गाथा – Nepal Press

घरघडेरी बेचेर कृषि कर्ममा होमिएका वीरबहादुरको वीरताको गाथा

गाँउलेले खिसी गरेको कृषि सपनालाई बहुराष्ट्रिय कम्पनीले पत्यायो

मंगलबारे (संखुवासभा) । गुराँसको राजधानी भनेर चिनिन्छन् तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाका तीनजुरे ,मिल्के र जलजले (टिएमजे) क्षेत्र । टीएमजेको गेटवे टाउन हो तेह्रथुमको वसन्तपुर । मध्यपहाडी राजमार्ग हुँदै पुगिने वसन्तपुर बजारबाट गुफापोखरी जाने बाटोमै १८ किलोमिटर हाराहारी दूरीमा छ मंगलबारे बजार ।

यही बजारनजिकै संखुवासभाको मादी जाने बाटैमा छ ठूलो ऐराङको महाहिमालय कृषि तथा जडिबुटी उत्पादन प्रालिको मुख्यालय । ३०० रोपनी भन्दा बढी जग्गामा फैलिएको यो व्यवसायिक क्षेत्रबाट कञ्चनजंगा, मकालु मात्रै होइन, प्रोपाइटर वीरबहादुर कार्कीको मेहनत र सफलताका शिखर पनि देखिन्छ ।

गाँउलेले खिसी गरेको कृषि सपनालाई बहुराष्ट्रिय कम्पनीले पत्यायो

कोशी-पहाडी क्षेत्रका चिनिएका व्यापारी वीरबहादुर कार्कीको व्यापारिक मुकाम तेह्रथुमको जिरिखिम्ती बजारमा थियो । कार्की तराई हुँदै आएका दैनिक उपभोग्य सामान ग्रामीण बजारमा बेच्ने र पहाडका उत्पादन तराई पठाउँथे । २०७२ बाट सोच फेर्दै उनले कृषि उत्पादनको व्यापार सुरू गरे ।

मंगलबारे बजारसँगैको जग्गामा केही गर्न खोज्दा गाउँलेले अन्यत्र व्यवहार बिगारेर गाउँमा फर्क्यो भन्नसमेत भ्याएको उनी सुनाउँछन् । ‘यहाँ २०७२ ताका कृषि गर्ने कुरा चल्दा एउटा गोठ र जंगल मात्रै थियो’, कार्कीले नेपाल प्रेससँग भने ।

गाँउलेले वीरबहादुरको कुरा काट्न थाले । वीरबहादुरले पाखाका पोथ्रापोथ्री र बेकामे बिरुवा काट्न थाले । २०७३ असार २१ मा त उनले कम्पनी नै दर्ता गरे ।

वीरबहादुरले कृषि व्यवसाय सुरू गरेको ६ वर्ष पूरा भएको छ । अहिले उनी किलोमा होइन क्वीन्टलमा आफ्नो उत्पादन बिक्री गर्न थालेका छन् । जस्तै, बन्दाकोपी औसतमा ३० ट्याक्टर बेच्छन् उनी । एक ट्याक्टरको मूल्य बन्दाकोपीको साइज र गुणस्तरअनुसार ४० हजारदेखि एक लाखभन्दा बढीसम्म छ । त्यस्तै आलु १५० क्वीन्टलसम्म बेच्छन् । सतुवा, लौठसल्ला, अर्गेलीजस्ता खेती पनि छ उनको । नेपाली कागज बनाउन प्रयोग हुने अर्गेलीको बिक्री भने कोरोना महामारीपछि बन्दजस्तै छ । खस्रेदेखि सिँगाने मालिङ्गोसम्म वीरबहादुरको कृषि फर्मको आकर्षण हुन् ।

कार्कीले चिराइतोको उत्पादनमा त फड्को नै मारेका छन । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले बर्षको ४० टन किन्नेगरी उनीसँग सम्झौता गरिसकेको छ । यही असार १ गतेबाट लागू सम्झौता अनुसार डाबर नेपालको उद्योग सिमरासम्म चिराइतो पुर्‍याउने उनले बताए ।

‘संखुवासभाको डिभिजन वन कार्यालयको माध्यमबाट डाबरको कुरा आयो’, वीरबहादुरले भने, ‘छलफललाई सम्झौतासम्म लगेर औपचारिक रूप दिन छ महिना लाथ्यो ।’

कृषि उद्यममा बहुराष्ट्रिय सम्झौता आएपछि सहज भएको बताउँदै उनले भने, ‘यो सम्झौताले मलाई मात्रै हैन संखुवासभाको उत्पादनलाई समेत धेरै राम्रो सन्देश दिएको छ ।’

छोरा, श्रीमतीलगायत परिवारका तीन सदस्य, तीन स्थायी कर्मचारी र मौसमी ज्यालादारी कर्मचारीबाट चलेको आफ्नो कम्पनीको सफलतालाई उनी संघर्ष र मेहनतको फलको संज्ञा दिन्छन् ।

परम्परागत कर्ममा आधुनिक स्पर्श

संखुवासभाको उम्लिङमा जन्मिएका वीरबहादुर कार्कीको बाल्यकालको ध्यान पढाइमा धेर खेतिपातीमा थोर भएर बित्यो । तर, खेतिपातीको मेलेमेसो पारिवारिक विरासतकै आधारमा पाए । जुन पूरा गर्न अहिले ५३ वर्षको उमेरमा उनी जोडतोडले लागेका छन् । उनको परम्परागत ज्ञानलाई आधुनिक स्पर्श दिँदैछन् छोरा इन्द्रले । काठमाडौंको टेक्सास इन्टरनेसनल कलेजमा वाणिज्यशास्त्र र नोबेल कलेजमा कम्युटर पढेर इन्द्रले बाबुको कृषि कर्मलाई प्रालि दर्ता गरेर व्यवसायीकरणको सोच ल्याए । बारीका गरोमा ट्याक्टर पुर्‍याउनेसम्मका यान्त्रीकरणको अवधारणा पनि उनकै हो ।

‘छोराका साथीहरू यूरोप, अमेरिकादेखि अस्ट्रेलिया पुगेका छन् तर छोराले आफ्नै गाउँठाउँमा कृषि क्षेत्रमै सुरूदेखि नै आफूलाई सक्रिय गराएको छ’, वीरबहादुरले छोराको कृषि क्रेज बारे सुनाए ।

घरघडेरी बेचेर कृषि कर्ममा

सरकार र विभिन्न दातृ निकायबाट अनुदानको कुरा आउनासाथ रातारात कृषकको जन्म भएका उदाहरण निकै छन् । अनुदान पाइने लोभमा ‘नक्कली’ फर्म खडा गरेर आफन्त, परिवार, नातागोता र आसेपासेका नाममा थालिएका व्यवसाय रकम पाएसँगै लथालिंग भएका छन् । तर, यी सबैका अपवाद हुन् वीरबहादुर ।

उनले तेह्रथुमको म्याङ्लुङ नगरपालिकास्थित जिरिखिम्ती बजारको घर ८० लाख हाराहारीमा बेचे । इटहरीको बजारनजिकैको घडेरी ६० लाखजतिमा बेचे । त्यही पैसा उनले कृषि कर्ममा लगाएका छन् । घरघडेरी, र सुरूको व्यापार बेचेका उनी परिवारसहित अहिले कृषि र जडिबुटीजन्य वस्तुको उत्पादनमा दत्तचित्त भएर होमिएका छन् ।

उनको यो व्यवसायलाई सरकारी निकायको भने प्रवर्द्धनात्मक सहयोग छ । डिभिजन वन कार्यालय संखुवासभाले जडिबुटी भण्डारण गर्न भवन बनाउन सहयोग गरेको छ । संखुवासभाकै कृषि ज्ञान केन्द्रले सिमेन्टेड पोखरी निर्माणमा र बुसकटर, मिनि टिलरजस्ता केही औजार खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ ।

कृषिमा पशुपालन र पर्यटन जोड्दै

वीरबहादुरले आफ्नै कृषि उद्यममा पछिल्लो समयमा कुखुरा र खसीबोका पनि थपेका छन् । गाई पाल्ने सुरसारमा पनि छन् उनी ।

‘कृषि र पशुपालन अत्यन्तै निकट कर्म रहेछ’, कार्की भन्छन्, ‘कृषिलाई आवश्यक मल पशुपालनबाट आउने र पशुलाई आहारा पनि कृषिबाट आउने भएकोले यो आफैँ जोडिने कुरा रहेछ ।’

नेपालप्रेससँग उनले अर्को दीर्घकालीन योजना पनि सुनाए त्यो हो- कृषि पर्यटन । यो योजना वीरबहादुरका छोरा इन्द्रको हो । टीएमजे क्षेत्रको डिलमै भएको यो फर्मलाई फार्मस्टेसहितको कृषि पर्यटनमा जोड्न गृहकार्यमा जुटेका छन् उनी ।

‘टीएमजे हेर्न हजारौँ आउँछन्, हिँउ पर्ने समयमा हिँउ खेल्न आउनेहरू उत्तिकै हुन्छन, अझ शैक्षिक भ्रमण गर्नेहरू पनि त्यत्तिकै । यी सबै कुराले फार्मस्टेको सम्भावना राम्रो छ । हाम्रा मौलिक उत्पादनहरू यहीँ बजार ल्याउन पनि यो आवश्यक छ ’, , वीरबहादुरका छोरा इन्द्रले बताउँछन् ।

 

कृषिका दुःख- कमजोर पूर्वाधारदेखि बजारको प्रत्याभूति अभावसम्म

६ वर्षमै उत्पादन र बजारीकरणमा फड्को मारेका वीरबहादुरका दु:ख पनि टन्नै छन् । भनेको बेला मल पाइँदैन । बोराको साढे पाँच सयका दरले संखुवासभा सदरमुकाम खाँदबारीदेखि महँगो ढुवानी भाडा तिरेर ट्याक्टरका कुखुराको सुली ल्याउँछन् उनी । गुफापोखरीसम्मका डाँडाकाँडाका विभिन्न गोठबाट प्रतिबोरा साढे दुई सय रूपैयाँसम्म हालेर मल मल ओसार्छन् । गाउँमा कृषि कर्म गर्ने दक्ष र पर्याप्त कामदारको अभाव त छँदैछ ।

सबै उत्पादनको बजारको प्रत्याभूति नहुनु र पक्की सडक नहुँदा पनि सकस नै छ । खरायो, घोरल, मृग, दुम्सीलगायतका आसपासका जंगली जीवजन्तुले पनि उत्तिकै सताएको उनको भनाइ छ ।

बोटबिरुवाको स्याहारचाकरका समस्या सुनाउँदै वीरबहादुर भन्छन्, ‘परीक्षामा हरेक प्रश्नको उत्तर छोटो भएपनि सही उत्तर दिँदा अंक आउँछ । यहाँ त अंकले मागेको भन्दा धेरै लामो उत्तर लेख्दा पनि (परिश्रम गर्दा) आउनुपर्ने जत्ति आउँदैन ।’

समस्यासँग जुध्ने र नयाँ अवसर लिनेमा वीरबहादुर खप्पिस छन् । उनले २०५४ मा हुलाकको स्थायी सरकारी जागिर छोडेर व्यापारमा पूर्णकालीन समय लागे । विगत डेढ बर्षबाट उनी व्यापार छाडेर कृषि उद्यममा लागेका छन् ।

कुनै कारण पुनः कृषि कर्म छोडेर अन्त लाग्ने संभावना कत्ति छ भन्ने नेपाल प्रेसको प्रश्नमा वीरबहादुरले भने, ‘५३ वर्ष पुगे । अबको सम्पूर्ण कर्म कृषिमै हुनेछ । कृषिमै आनन्द छ । कृषि नै दीर्घकालीन छ ।’


प्रतिक्रिया

2 thoughts on “घरघडेरी बेचेर कृषि कर्ममा होमिएका वीरबहादुरको वीरताको गाथा

  1. अत्यन्तै मेहनती र समाजसेवी पनि हुनुहुन्छ दाजु विरबहादुर कार्की । वाहाले अाफ्ना साथीहरूलाई पनि सुख दुखमा साथदिने र सहि मार्गको सरसल्लाह, सुझाव दिने गर्नु हुन्छ।

  2. बधाई बिरबहादुरजीलाइ. ठिक समयमा सोच्नु भो.सफलताको कामना. कुनै बेला पर्यटक भएर आउने हो. मेरो पनि कुनै बेला तेस्तो सोच थ्यो आफन्तलाइ जगा खरिड गरेर उत्साहित गर्ने, काम लागेन. बाउछोरा हुदा टिम भैगो, छोरालाइ पनि बधाई. हाम्रो त जगा बाझो राख्ने ठाउँ. भोजपुरतिर. सफलताको कामना छ. सोच्दै छु कहानिर होला भनेर. पल्लो मादीका दुर्गा मणि देवान, तेजब्नाहादुर कार्की मेरा स्कुले साथी. त्यो बाटो हिडेको छु ३जुरे थाछ. आम्ला नि एक दिन. प्रोफ प्रेमकुमार खत्री, भोजपुर प्याउली, हाल काठमाडौँ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर