एटीएम प्रयोगबाटै बाहिरिन्छ अर्बौं रुपैयाँ
काठमाडौं । तपाईंहामीले प्रयोग गर्ने एटीएमबाट कारोबार गर्दा नेपालबाट अर्बौं रकम बाहिरिँदै आएको छ । विशेषगरी भिसा कार्डमार्फत हुने कारोबारमा अर्बौं रकम बाहिरिन्छ ।
भिसा कार्ड प्रयोगकर्ताले एक बैंकको कार्ड अर्को बैंकको एटीएममार्फत गर्दा केही रकम विदेशिने गरेको हो । यस्तो प्रत्येक कारोबारमा १० देखि १२ रुपैयाँसम्म रकम बाहिर जाने गरेको बैंकरहरूको भनाइ छ ।
करोडभन्दा बढी एटीएम कार्ड नेपालमा छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अर्काको देशको स्विच प्रयोग गरेपछि शुल्क लाग्ने बताए । तर, यस्तै शुल्कको नाममा कति रकम बाहिरिन्छ भन्ने राष्ट्र बैंकसँग एकिन तथ्यांक नभएको पौडेलले बताए । पौडेल भन्छन्, ‘नेपालबाट बाहिरिन्छ पनि भित्रन्छ पनि । विदेशबाट जारी भएका कार्ड नेपालको पस मेसिनमा प्रयोग गरेबापत निश्चित शुल्क उनीहरुले पनि छोड्छन् । नेशनल पेमेन्ट स्विच सञ्चालनमा आएपछि यस्तो शुल्कहरु बाहिरिन रोकिनेछ ।’
अनौपचारिक तथ्यांकअनुसार एक अर्बभन्दा बढी रकम भिसा कार्ड प्रयोगमार्फत बाहिरिन्छ ।
अहिले नेपालमा एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा घुसाएर रकम झिक्दा महिनामा २ कारोबारका लागि शुल्क लाग्दैन । तर, त्यसभन्दा बढी कारोबार गरे प्रतिकारोबार २० रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो बैंकले ग्राहकसँग लिने शुल्क भयो ।
तर, बैंक आफैंले पनि स्विच प्रयोग गरेवापत निश्चित शुल्क तिर्नुपर्छ । यो डेभलपरसँगको सम्झौताअनुसार रकम तय हुने बैंकर्सहरु बताउँछन् । नेपालको आफ्नै विद्युतीय भुक्तानी प्रणाली नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारमा भिसा, मास्टर्ड कार्डजस्ता अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई महंगो शुल्क तिरिरहेका छन् ।
बाहिरिने रकम रोक्न घरेलु स्विच
एटीएम प्रयोग गरेबापत बाहिरिने रकम रोक्न नेपालले आफ्नै स्विच बनाइरहेको छ । राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउसलाई स्विच स्थापनाको अनुमति दिएको थियो । एनसीएचएलले चालु आर्थिक वर्षबाटै सञ्चालनमा ल्याउने गरी नेशनल पेमेन्ट स्विच बनाइरहेको छ ।
राष्ट्र बैंकका अनुसार लगभग अन्तिम चरणको काम भइरहेको छ । निर्माणको जिम्मा पाएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले पनि चालु आर्थिक वर्षभित्रै सक्ने गरी काम भइरहेको बताएका छन् ।
प्रधानका अनुसार नेपालको आफ्नै स्विच हुँदा पनि अहिलेका सबै कार्ड विस्थापित हुने सम्भावना छैन । तर, घरेलु कार्ड पनि प्रयोग गर्न थाल्दा त्यसले बाहिर जाने रकममा कमी आउने उनको भनाइ छ ।
बढ्दै विद्युतीय कारोबार
पछिल्लो समय विद्युतीय माध्यमबाट कारोबार हुने क्रम बढेको छ । एटीएममात्र होइन, आरटीजीएस, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्यूआरमा आधारित भुक्तानी जस्ता माध्यमहरु बढी प्रचलनमा छन् । पछिल्लो समय केन्द्रीय बैंकले नै क्यूआर पेमेन्टलाई प्रवर्द्धन गरिरहेको छ । अहिले साना पसलदेखि तारे होटलसम्म क्युआरमार्फत भुक्तानी गर्न पाइन्छ । नेपालमा आहिले भिसा कार्ड, मास्टर कार्ड र चाइना युनियन पे (सीयूपी), भारतीय रुपी कार्ड प्रचलनमा छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ मसान्तसम्म १ करोड ८ लाख बढी डेविट कार्डको संख्या पुगेको छ । के्रडिट कार्ड २ लाख ३४ हजार ६२८ पुगेको छ । यस्तै प्रिपेड कार्डको प्रयोगकर्ता १ लाख २ हजार ३६८ जना रहेका छन् ।
नेपालमा क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको संख्या ६१ पुगेको छ । नेपाली बैंक तथा वित्तीय संस्थाहरुले स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) को डेविट कार्ड प्रयोग गर्छन् । यस्तो कार्ड नेपाल र भारतमा मात्रै चल्छ ।
क्यूआरमा क्रान्ति
राष्ट्र बैंकले नै प्रवर्द्धन गर्दै आएको क्यूआर कोडमार्फत भुक्तानी गर्नेहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । कुनै वेला लाख र करोडमा सीमित क्यूआर भुक्तानी अहिले अर्बौंमा पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई नै आधार मान्ने हो भने जेठ महिनामा मात्रै एक अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी भएको देखिन्छ ।
बैशाखमा पनि १ अर्बभन्दा बढी भुक्तानी क्युआर कोडमार्फत भएको छ । क्यूआरको अङ्ग्रेजी पूरारुप क्विक रेस्पोन्स अर्थात तत्कालै प्रतिक्रिया जनाउने भन्ने हुन्छ । यस किसिमको कोड तुरुन्तै पढ्न सकिने गरी बनाइएको हुन्छ ।