अर्थतन्त्रको संकट हटाउन नयाँ उद्योग थपिन जरुरी छ: उद्योगमन्त्री बडू – Nepal Press

अर्थतन्त्रको संकट हटाउन नयाँ उद्योग थपिन जरुरी छ: उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकले भोगिरहेको आर्थिक संकटको एकमात्र निकास उद्योगधन्दाहरूको बढोत्तरी रहेको बताएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले जुन संकटको अवस्था छ, त्यो आयातमा निर्भर हुने अवस्था भएकाले हो’, उनले भने, ‘त्यसको समाधानका लागि कृषि र पर्यटनलाई अगाडि बढाउनुपर्ने कुरा छँदैछ । त्यसका अलावा उद्योगधन्दाहरू बढाउनुपर्ने अवस्था छ ।’

नेपालमा हाल जे जति उद्योग चलिरहेका छन्, ती पनि आफ्नो क्षमताअनुसार नचलेको उद्योगमन्त्री बडूले बताए । उनले भने, ‘५० देखि ६० प्रतिशत उद्योगमात्रै आफ्नो क्षमताअनुसार चलिरहेका छन् । ती उद्योग पूर्ण क्षमतामा चल्न जरुरी छ ।’

नयाँ उद्योगहरू अझ खुल्न जरुरी रहेको भन्दै उनले यसका लागि निजी क्षेत्र अगाडि बढ्न जरुरी रहेको बताए । मन्त्री बडूले निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेकोमा जोड दिए ।

सरकारले चलाउनसक्ने उद्योगहरू के के हुनसक्छन् भनेर पनि अहिले अध्ययन भइरहेको उद्योगमन्त्री बडूले जानकारी दिए । ‘सरकारले चलाएका उद्योगहरू किन बन्द भए भनेर पनि समीक्षा भइरहेको छ । यस्तै निजी क्षेत्रसँग मिलेर सरकारले कस्ता उद्योग चलाउन सकिन्छ भनेर पनि अध्ययन भइरहेको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर