के गोटाबाया राजपाक्षे श्रीलंका फर्किन लागेका हुन् ?
काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाबाट भागेर मल्दिभ्स हुँदै सिगांपुर पुगेका श्रीलंकाका भूतपूर्व राष्ट्रपति गोटाबाया राजपाक्षे पुन श्रीलंका फर्किन सक्ने बताइएको छ ।
श्रीलंका संसदका सभामुख बन्डुला गुनवर्दनालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार गोटाबायाको सदाका लागि देश छोड्ने मनशाय नरहेको बताइएको छ । तर कहिले स्वदेश फिर्ता हुन्छन् भन्ने जानकारी भने नरहेको अवस्था छ ।
देशलाई आर्थिक संकटमा पुर्याउनका निमित्त राजपाक्षे परिवारको मुख्य भूमिका रहेको भन्दै चर्को आलोचना भएसँगै गोटाबाया गत १३ जुलाईमा आफ्नी श्रीमती र दुई अंगरक्षकसहित माल्दिभस पुगेका थिए । त्यसको भोलिपल्ट उनी सिगांपुर पुगेका हुन् भने सिगांपुरबाट नै उनले राजीनामा दिएका थिए ।
यता सिगांपुरले पनि गोटाबायाले कुनै किसिमको राजनैतिक शरण नमागेको जनाएको छ भने सुरुवातमा १४ दिनको भिसा दिएको श्रीलंकाले वुधबार मात्रै गोटाबायालाई १४ दिनको भिसा थप गरिदिएको छ ।
हाल देशको कार्यकारी प्रमुखको भूमिकामा नरहेका गोटाबाया श्रीलंका फर्किएको सन्दर्भमा पक्राउ पनि पर्न सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् भने अर्कोतिर गोटाबाया निकट व्यक्तिहरु नै हाल श्रीलंकाको नेतृत्वमा रहेको कारण यसो नहुने किसिमका टिप्पणी समेत गरेका छन् । यस्तो अवस्थामा गोटाबाया कहिले श्रीलंका फर्किन्छन वा फर्किदैनन् भन्ने यकिन हुन सकेको छैन ।
यसैबीच गोटाबायाले श्रीलंकाको तत्कालीन गृह युद्दको समयमा युद्द अपराध गरेको भन्दै एक अन्तर्राष्टिय संस्थाले हालै मात्र सिगांपुरमा उजुरी समेत गरेको छ । यसका विषयमा भने सिगांपुरले कुनै कारवाही अगाडी बढाएको सुचना प्राप्त भएको छैन ।