एसपीपी अस्वीकार गर्ने पत्र नपठाउनुको कारणबारे जानकारी दिन सरकारलाई निर्देशन – Nepal Press

एसपीपी अस्वीकार गर्ने पत्र नपठाउनुको कारणबारे जानकारी दिन सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा वुधबार बसेको समितिको बैठकले एसपीपीका विषयमा विभिन्न निर्देशनहरु दिएको र कार्यान्वयनको अवस्थाका बारेमा सरकारसंग जानकारी माग गर्ने निर्णय गरेको हो ।

समिति सभापति पवित्रा निरौलाले सरकारले एसपीपीबाट फिर्ता हुने निर्णय गरिसकेको अवस्थामा किन पत्रचार नगरिएको हो भन्ने पनि जानकारी माग गरिएको बताए ।

त्यस्तै, बैठकले सेनाका प्रधानसेनापति अस्ट्रेलियामा भैरहेको एक सम्मेलनमा भएको सहभागी भएको विषयमा पनि जानकारी माग गरिएको उनले बताए ।

तीन पटक सम्म एसपीपीका सम्बन्धमा भएका कागजात मगाईसकेको र प्राप्त नभएको उनको भनाई छ ।

बैठकमा समितिका सदस्य माधवकुमार नेपालले एसपीपीमा नेपाल सहभागी नहुने सरकारको निर्णयबाट फिर्ता हुने अवस्था नरहेको भन्दै सरकारको पत्र अमेरिकालाई पठाउन ढिलाइ भएको बताए । त्यस्तै, समिति सदस्य प्रकाशमान सिंहले यस विषयमा सबै कागजात मगाएर नै आवश्यक अध्ययन गर्नुपर्ने धारणा राखे ।

बैठकमा समितिका सदस्य ईश्वर पोखरेलले समितिले मागेको कागजात नपठाएर शंकाको घेरा उत्पन्न भएको तर्क गरे ।

बैठकमा अधिकांश समिति सदस्यहरुले एसपीपीमा नेपाल सहभागी नहुने जानकारीको पत्र अमेरिकालाई पठाउन ढिलाइ हुनुको कारणबारे सरकारले प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *