काठमाडाैंको विकल्पमा भैरहवामा अन्तर्राष्ट्रिय चार्टर फ्लाइट अवतरण – Nepal Press

काठमाडाैंको विकल्पमा भैरहवामा अन्तर्राष्ट्रिय चार्टर फ्लाइट अवतरण

रुपन्देही । काठमाडाैंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएपछि रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर फ्लाइट अवतरण भएको छ ।

यहाँबाट व्यावसायिक उडान सञ्चालनमा आएको दुई महिनापछि काठमाडाैंको विकल्पको रूपमा चार्टर फ्लाइट अवतरण गरेको हो । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुई जना भिक्षु यात्रु बोकेर १२ सिटे हाई (एचएआई) एयरको हाइ ४९९ प्राइभेट जेट काठमाडौँ हुँदै भैरहवामा बुधवार अवतरण भएको हो ।

पार्किङको लागि उक्त प्राइभेट विमान दिउसो सवा १ बजे भैरहवा विमानस्थलमा अवतरण गरेको यो विमानले २ जना भियतनामी व्यापारी लिएर आएको हो ।

साउन १६ गतेसम्म विमानस्थलमै पार्किङ गरी राख्ने विमानस्थलका टर्मिनल व्यवस्थापन शाखा प्रमुख रमेश महतले जानकारी दिए । ५ दिनपछि उक्त विमान काठमाण्डौं हुँदै भियतनाम फर्किने कार्यक्रम रहेको छ ।

व्यापारिक प्रयोजनका लागि बिजनेस मेनलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाण्डौमै अवतरण गराएर यहाँ आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिएका छन् ।

भैरहवाबाट यो विमान १ अगस्ट मा काठमाडौँ जाने छ, काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडान तालिका रहेको छ । विमानमा २ सेट प्राविधिक रहेका छन् । एच ए आई ४९९ कल साइनको विमान हो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान मात्रै हुँदै आएका थिए ।

वैशाख २८ गते पहिलो चार्टर विमान भारतबाट सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमानबाट आएको थियो ।

जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले साताको ३ उडान गर्दै आए पनि अन्य उडान भने हुन सकेको छैन ।

अन्य एयर कम्पनीहरूले चासो देखाए पनि उडान भने सुरु गर्न सकेका छैनन् । यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि नेपालबाट अन्य देश जाने आउने यो क्षेत्रका यात्रुलाई सहज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर