प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवक दोस्रोपटक पक्राउ, आपत्तिजनक अन्तर्वार्ता दिएको आरोप – Nepal Press

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवक दोस्रोपटक पक्राउ, आपत्तिजनक अन्तर्वार्ता दिएको आरोप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा ब्यानरसहित नाराबाजी गरेर चर्चामा आएका युवक अर्जुनराज पौडेल दोस्रोपटक पक्राउ परेका छन् । यसअघि घटनास्थलबाटै पक्राउ परेका उनी छुटेलगत्तै फेरि हिरासत पुगेका हुन् ।

एउटा अनलाइनसँगको अन्तर्वार्तामा आपत्तिजनक अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेको प्रहरी स्रोतले बतायो । सो अन्तर्वार्तामा उनले मुलुकको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै आफूले चाहे प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट सुट गर्न सक्ने दाबी गरेका थिए । आफूहरू प्रधानमन्त्री देउवालाई च्यालेन्ज गर्दै ब्यानर देखाउन पुगेको उनले अन्तर्वार्तामा बताएका छन् ।

‘हामी त नजिक आउन सक्छौँ भने जो पनि तपाईंको नजिक आउन सक्छ । हामी सुरक्षित छौँ, जतिसुकै राष्ट्रघात गरेपनि जनताले के गर्न सक्छन् भनेर मौन रहेर नबस्नुस्’ प्रधानमन्त्री देउवालाई चुनौती दिदै पौडेलले भनेका छन्, ‘आज हामी तपाईंको १० मिटर नजिक आएका छौँ । भोली एक मिटर नजिक आएर सुट पनि गर्न सक्छौँ । छातीमा गोली पनि हान्न सक्छौँ । त्यो ल्याकत अर्जुनराज पौडेलले राख्न सक्छ,’ अन्तर्वार्तामा उनले भनेका थिए ।

कमलादीमा आयोजित कार्यक्रममा नागरिकता विधेयकको विरोध गर्दै नाराबाजी गरेका तीन जना युवा पक्राउ परेका थिए । तीनैजना पछि छुटे पनि पौडेल फेरी पक्राउ परेका हुन् । उनलाई बुधबार साँझ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्तर्वार्तामा पौडेलले प्रधानमन्त्री पदलाई सम्मान गर्ने भएपनि उक्त पदको दुरुपयोग गरेर दलालको भूमिका निर्वाह गर्ने राष्ट्रघातीलाई भने सम्मान गर्न नसक्ने अभिव्यक्ति दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर