सहरमा ‘लापसे’ को चर्चा, कसरी हुन्छ परीक्षण ?
काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकले लागु पदार्थ सेवन (लापसे) गरे/नगरेको परीक्षणलाई कार्यान्वयन थालेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि मिरा चौधरी सवारीसाधनमा लेखिएको सायरी-गजल मेटाउने अभियानमा लागिन् । त्यस्तै सडकमा कोलाहल मच्चाउने बुलेटजस्ता बाइकमाथि कारबाहीमा केन्द्रित भइन् ।
अहिले उनी सवारी चालकले लागु औषध सेवन गरेको/नगरेको परीक्षण गर्न लागि परेकी हुन् ।
मादक पदार्थ सेवन (मापसे) जाँच अभियान सुरू गरेको करिब एक दशक भएपनि प्रभावकारी हुन सकेको थिएन । गृहमन्त्रालयलाई सवारी चालकमा लापसे परीक्षणलाई गुरु योजनाकै रूपमा समेटेको छ ।
डीआईजी चौधरीले अहिले नमूनाका रूपमा परीक्षण सुरू गरिएको बताइन् । ‘बिस्तारै यो अभियानलाई धेरै जनासम्म पुर्याइनेछ’, उनले भनिन् ।
‘हेर्दा शंकास्पद देखिने तर मापसे परीक्षणमा मापसे गरिएको नदेखिने चालकहरूलाई पहिलो प्राथमिकतामा राखेर लापसे परीक्षण भइरहेको छ’, उनले भनिन् । सवारी चालकको पिसाबलाई किटमा राखेर लापसे परीक्षण हुने गर्दछ । यसरी परिक्षण गर्न बढीमा एकदेखि दुई मिनेटसम्म लाग्छ ।
चौधरीले जिम्मेवारी सम्हालेयता उपत्यका ट्राफिकले २० जना सवारी चालकमाथि लापसे परीक्षण गरेको छ । बुधबार राति भक्तपुरको जगातेमा १० जना टिपर चालकमा लापसे परीक्षण गरिएको थियो । त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सी चालकमा पनि परीक्षण गरिएको थियो । हालसम्म गरिएका परीक्षणमा कसैले पनि लागुऔषध सेवन गरेको नभेटिएको ट्राफिक प्रहरीले बताएको छ । ट्राफिकका अनुसार सेवन गरिएको भेटिए प्रहरीलाई बुझाइने छ ।
यस अभियानमा ट्राफिकलाई जनस्वास्थ्य प्रयोगशाला, बनेपाले लापसे परीक्षणमा प्रयोग हुने टीएचसी किट र प्राविधिकहरू उपलब्ध गराएको छ । पहिलो चरणमा ५० वटा टीएचजसी किट सहयोग भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यस्तो किट महँगो हुने भएकाले लापसे परीक्षणको निरन्तरता त्यति सहज देखिँदैन । डीआईजी चौधरी आफूले अनौपचारिक रुपमा एउटा किटको एक सय ७० रुपैयाँ पर्ने जानकारी पाएको बताउँछिन् ।