मिटरब्याज पीडितहरुद्वारा आन्दोलन घोषणा : साउन १५ गते मुख्यमन्त्री कार्यालय घेराउ
काठमाडौं । मधेश प्रदेशमा मिटरब्याज पीडितहरुले संघर्ष समिति निर्माण गरेर संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।
विशेष गरेर मधेस प्रदेशका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाहीलगायत जिल्लाहरुमा संघर्ष समिति गठन गरेर संगठित रुपमा मिटरब्याज पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
उनीहरुले यही वैशाख १५ गते मुख्यमन्त्री कार्यालय जनकपुर घेराउको कार्यक्रम घोषणा गरेका छन् । यसपछि चरणबद्ध रुपमा सडकमा आन्दोलन तताएर लाने अभियान्ता मनोजकुमार पासवानले बताए ।
सुदखोरहरुले जालसाजी गरेर कपाली तमसुकको भरमा आफूहरुलाई सुकुम्बासी बनाएकाले न्यायका लागि सडक आन्दोलन गर्नुको विकल्प नरहेको पासवानले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘अहिलेको हाम्रो कानुन सुदखोरहरुको पक्षमा छ । हामीले चाहेर पनि कानुनी प्रक्रियाबाट न्याय पाउन सक्दैनौं । त्यसैले अब सडक आन्दोलनको विकल्प नै छैन ।’
मुख्यमन्त्री कार्यालय घेराउपछि जिल्ला जिल्लामा सडक आन्दोलन गरेर सडकबाटै आफूहरुको न्यायको फैसला गर्ने पीडितहरुको योजना रहेको अभियान्ता संघर्ष दाहालले बताए ।