संसदीय समितिकाे दुईथरी निष्कर्ष : दोषी पुष्टि गर्ने प्रमाण भेटिएन, छानबिन अपूर्ण (भिडिओ) – Nepal Press

संसदीय समितिकाे दुईथरी निष्कर्ष : दोषी पुष्टि गर्ने प्रमाण भेटिएन, छानबिन अपूर्ण (भिडिओ)

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले गल्ती प्रमाणित गर्ने प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ । साथै, यो छानबिन आफैंमा पर्याप्त नभएको पनि अर्को निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको छ ।

समितिको अन्तिम वैठक केहीबेर अघि सिंहदरबारमा सम्पन्न भएको थियो । बैठकपछि सदस्य सचिव सुरेन्द्र अर्यालले प्रतिवेदन लेखन कार्य लगभग सकिएको बताएका थिए । प्रतिवेदनमा सर्वसम्मति भए/नभएको उनले खुलाएनन् ।

तर, समितिका एक सदस्यले नेपाल प्रेससँग कुरा गर्दै प्रतिवेदनमा दुईथरी निष्कर्ष समावेश गरिएको जानकारी दिए । उनका अनुसार अर्थमन्त्रीविरुद्ध प्रमाण नभेटिएकाले उनलाई दोषी ठहर गर्ने नसकिने सत्ता पक्षीय सांसदहरुको निष्कर्ष छ । यस्तै, समितिले गरेको छानबिन आफैंमा अपूरो रहेकाले यसमा थप अनुसन्धान आवश्यक रहेको प्रतिपक्षका सांसदहरुको निष्कर्ष रहेको छ । दुवै निष्कर्षलाई प्रतिवेदनमा स्थान दिइएको स्रोतले बतायो ।

बैठकमा एमालेका चार सांसदहरुले विभिन्न विषयमा असहमति राखेका थिए । तर, उनीहरुले साझा धारणा बनाएर भने प्रस्तुत भएका थिएनन् । एमालेका सांसदहरुले फरक–फरक कुरामा असहमति राखेको स्रोतको भनाइ छ ।

अर्थ मन्त्रालयले समितिलाई छानबिनमा असहयोग गरेको, विवाद आउनासाथ मन्त्रालयले सीसीटीभी फुटेज सार्वजनिक नगरेको, व्यापारिक घरानाको फाइदाका निम्ति करको दर हेरफेर गरिएको, सीसीटीभी फुटेजका दृष्य प्रष्ट नखुलेको जस्ता विषयहरु एमाले सांसदहरुले उठाएका थिए ।

छानबिन आफैंमा अपूरो रहेकाले तत्कालीन अर्थमन्त्री शर्माले क्लीन चिट पाउन नसक्ने एमाले सांसदहरुको तर्क छ । सत्तारुढ सांसदहरुले भने सीसीटीभी फुटेजले पनि अर्थमन्त्रालयभित्र घुसपैठ भएको प्रमाणित नगरेको कुरालाई जोड दिएका थिए । समितिमा सत्तारुढ सांसदहरुको स्पष्ट बहुमत रहेको छ ।

आजको अन्तिम बैठक बस्नुअघि माओवादी सांसद देव गुरुङले सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेटेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर उनले ब्रिफिङ गरेका थिए । नेताहरुको सुझाव लिएर उनी बैठकमा आएका थिए ।

यसैगरी, एमालेका सांसदहरुले पनि पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरुसँग सुझाव लिएको स्रोतले बताएको छ ।


प्रतिक्रिया

One thought on “संसदीय समितिकाे दुईथरी निष्कर्ष : दोषी पुष्टि गर्ने प्रमाण भेटिएन, छानबिन अपूर्ण (भिडिओ)

  1. के यो देशमा केही नै हुन्न मन्परी गर्ने माथि !?
    ‘दन्डहिनता’ सबै कुरा सक्ने र समाप्त पार्ने प्रकृया हो !!
    जसले जे गर्दा नि हुने, राजनीतिको रङ दियो भने सब चोखो !!
    १७ साल, ५९ साल यसै आएका हुन र !! चोरहरु अनी रहेछन चोरका साक्षीहरु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *