बौद्ध स्तूपामा दृष्टिविहीनहरूमाथि दुर्व्यवहार (भिडिओसहित)
काठमाडौं । काठमाडौंको बौद्ध स्तूपा परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि दुर्व्यवहार भएको छ । बिहीबार बिहान बौद्ध स्तूपा छिर्न खोजेका दृष्टिविहीनहरुको एक समूहलाई त्यहाँका सुरक्षा गार्डले मुख्य प्रवेशद्वारमा रोकेर दुर्व्यवहार गरेका हुन् ।
त्यहाँ खटिएका सुरक्षा गार्डले उनीहरुले प्रयोग गर्ने सेतो छडी खोसेर भाचिँदिएका छन् । आक्रोशित ती सुरक्षागार्डले एक दृष्टिविहीनलाई हातपात गर्दै धकेलेका थिए ।
बौद्ध स्तूपामा दृष्टिविहीनमाथि दुर्व्यवहार भएको भिडियो यतिबेला सामाजिक सन्जालमा भाइरल छ । भिडियोमा दृष्टिविहीनको समूहलाई बौद्धनाथ क्षेत्र विकास समितिका सुरक्षा गार्डले बौद्ध स्तूपा छिर्ने गेटैमा रोकेर लठ्ठी खोसेको देख्न सकिन्छ ।
दृष्टिविहीनहरूमाथि दुर्व्यवहार हुँदा प्रहरी पनि त्यही थिए । तर, ती सुरक्षाकर्मी मुकदर्शक बनेर उल्टै उनीहरुलाई धकेल्न पुगेपछि तीव्र आलोचना भइरहेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धले भने प्रहरीले दृष्टिविहीनहरूलाई नधकेलेको दाबी गरेको छ । विवाद भएको थाहा पाएर विवाद मिलाउन गएको वृत्तका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले नेपालप्रेसलाई बताए ।
उनले भने, ‘त्यो हामीले होइन बौद्ध विकास क्षेत्र समितिले हो । बौद्धनाथ विकास क्षेत्र कोषको आफ्नै सुरक्षा गार्ड छ । उनीहरुले लठ्ठी खोस्न थालेपछि हामीले थाहा पाउनेबित्तिकै सम्झाएको हो । त्यहाँ विवाद भएको थाहा पाएपछि विवाद मिलायौं ।’
पर्यटकीय क्षेत्रमा माग्न नपाइने भएकाले त्यहाँ माग्नेहरु भित्र बसेर माग्न खोजेपछि बौद्ध स्तूपाभित्र गार्डले बाटो छेकेको उनले बताए । दुबै पक्षलाई वृत्तमा ल्याएर हिजो नै सहमति गराएर पठाइदिएको उनले बताए ।