नक्कली बिहे र सुनियोजित दुर्घटना गराएर अढाई करोड बीमा रकम झ्वाम, ६ जना पक्राउ (भिडिओ) – Nepal Press

नक्कली बिहे र सुनियोजित दुर्घटना गराएर अढाई करोड बीमा रकम झ्वाम, ६ जना पक्राउ (भिडिओ)

काठमाडौं । गत वर्षको बैशाख २ गते राति ११ बजे बाँके कोहलपुरका २१ वर्षीय सर्जन विकको मोटरसाइकल दुर्घटना भयो । जिल्लाको बैजनाथ गाउँपालिका- ६ ललितपुरको भित्री सडकमा उनी चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको मिनी बसले ठक्कर दिएको थियो ।

बाटोमा लडेको अवस्थामा स्थानीय र प्रहरीले फेला पारी कोहलपुर अस्पताल लगे पनि उनको ज्यान बच्न सकेन । मिनीबसका चालक टोपबहादुर राना क्षेत्रीमाथि सवारी ज्यान मुद्दा जिल्ला अदालत बाँकेमा दर्ता भयो । अदालतले क्षेत्रीलाई ३० दिन कैद र २ हजार रूपैयाँ जरीबानाको फैसला सुनायो ।

अदालतले मामूली सजायमा आरोपीलाई उन्मुक्ति दिए पनि यो दुर्घटना कुनै भवितव्य नभएर योजनाबद्ध अपराध भएको खुलेको छ । नेपाल प्रहरीको अनुसन्धानका अनुसार मृतकको बीमा रकम असुलीका लागि दुर्घटना गराएर उनको हत्या गरिएको हो ।

विकको मृत्युपछि उनकी पत्नी सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रूपैयाँ २०७८ साल साउन १४ गते बीमा भुक्तानी लिएकी थिइन् । भुक्तानीपछि गत पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले विकको दुर्घटना शंकास्पद भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो । सोही आधारमा ब्यूरोले गरेको अनुसन्धानबाट उक्त दुर्घटना षड्यन्त्रपूर्ण रहेको ठहर भएको हो । प्रहरीले यस घटनामा संलग्न सपनासहित चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिकको जीवन बीमा २०७७ साल फागुन २८ गते गरिएको थियो र उनले इच्छाएको व्यक्तिमा पत्नी सपना मल्लको नाम उल्लेख गरेका थिए । सोही वर्षको चैत २ गते सपना र मृतकबीच विवाह दर्ता भएको देखिएको छ । विवाहभन्दा अगावै विकले इच्छाइएको व्यक्तिमा सपनाको नाम उल्लेख गरेका थिए ।

यस घटनाका मुख्य योजनाकारमा प्रहरीले सञ्जिव अर्याललाई ठहर्‍याएको छ । बीमाबापत सपनाले भुक्तानी लिएको २ करोड ५० लाखभध्ये सञ्जिवले ८० लाख रुपैयाँ लिएको खुलेको छ । यसैगरि, सपनाकी आमा छविकुमारी खत्रीलाई १७ लाख ४६ हजार, दिपक केसीलाई ६० लाख दिएर सपनाले ८६ लाख ८९ हजार रूपैयाँ आफूले राखेकी थिइन् ।

प्रहरीका अनुसार पेशा र वार्षिक आयको रकमले बीमाको शुल्क ५ लाख ४० हजार रुपैया तिर्नसक्ने क्षमता विकको थिएन । केवाईसीमा उनको वार्षिक आम्दानी २ लाख रूपैयाँ मात्र भएको स्व:घोषणा भएको छ । वार्षिक आम्दानीको अधिकतम ४० प्रतिशत मात्रै बीमा गर्न सकिने प्रावधान नाघेर विकको बिमा गराइएको पाइएको छ । मृतकको प्राथमिक बिमा शूल्क ५ लाख ४० हजार सञ्जिवले नै तिरिदिएका थिए ।

यसैगरी, श्रीमान्-श्रीमती भनिएका मृतक र सपना आपसी सम्पर्कमै नरहेको पनि प्रहरीले जनाएको छ । बीमा गराउने सञ्जिब र सपनाबीच भने घटना अगाडिदेखि पैसा बाँडफाडको समयसम्म निरन्तर सम्पर्क देखिन्छ । दुर्घटनामा बीमा अभिकर्ता सरदार अहमद खाँको मोटरसाइकल प्रयोग भएको छ । यसैगरी, घटनाको दिन सञ्जीव अर्यालतको मृतक, सपना, सरदार अहमद र ड्राइभर टोपबहादुरसँग सम्पर्क भएको पाइएको छ ।

प्रहरी अनुसन्धानअनुसार आरती भनिने ललिताकुमारी सापकोटाले सपना र सञ्जीवको भेट गराइदिएको तथा सपनालाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने कुरा भएको थियो । २०७७ सालमा सपना सीप सिक्न काठमाडौं आएकी थिइन् । सोही वर्ष फागुन २८ गते विक र सपनाको विवाह दर्ता गर्न खोजिएकोमा मृतकको उमेर नपुगेका कारण रोकिएको थियो । त्यही नै बेला सपना र बिकको पहिलो भेट भएको थियो । विवाह दर्ता पछि उनीहरूको भेट नै नभएको पाइएको छ । उनी विकको दाहसंस्कारमा समेत उपस्थित थिइनन् ।

प्रहरीले गत साउन ९ गते सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो यसैगरी बाँकेको कोहलपुर घर भएका सञ्जिव अर्याल, सोही स्थानमा सरदार अहमद खाँ र टोपबहादुर राना क्षेत्री पनि पक्राउ परेका छन् ।


प्रतिक्रिया

One thought on “नक्कली बिहे र सुनियोजित दुर्घटना गराएर अढाई करोड बीमा रकम झ्वाम, ६ जना पक्राउ (भिडिओ)

  1. देशको नेतृत्व कर्ता नै अपराधी अनि यस्ता अपराध त बढ्ने नै भयो नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *