सुनकोशीको गाउँ सभा : अध्यक्ष/उपाध्यक्षको पहिलो निर्णयलाई नै छैन बजेट – Nepal Press

सुनकोशीको गाउँ सभा : अध्यक्ष/उपाध्यक्षको पहिलो निर्णयलाई नै छैन बजेट

सिन्धुपाल्चोक ।

असार १० गते सुरु भएर स्थगीत भएको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको दोस्रो अधिवेशनले गाउँपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारीत गर्दे सम्पन्न भएको छ ।
संविधानले स्थानीय सरकारहरुले असार १० गते अनिवार्य रुपमा नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने प्रावधान राखेको छ । सोही व्यवस्था अनुसार सुनकोशी गाउँपालिकाले निर्धारीत मितिमा नै बजेट र नीति कार्यक्रम गाउँ सभामा पेश गरेको थियो । असार ३२ गते गाउँपालिकाको सभा बोलाएपनि उपाध्यक्ष सहित बहुमत सदस्यहरु अनुपस्थिती भएपछि गाउँ सभा स्थगीत भएको थियो ।
शुक्रबार सम्पन्न भएको गाउँ सभाले यसअघि गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको नीति कार्यक्रम र उपाध्यक्ष कान्छी लामाले पेश गरेको चालु आर्थिक वर्षको बजेट सर्वसम्मत रुपमा पास गरेको छ । असार भित्र बजेट पास हुन नसकेपछि सुनकोशी गाउँपालिकामा ‘बजेट होलीडे‘ भएको थियो ।
चालु आर्थिक वर्षको लागि सुनकोशी गाउँपालिकाले ५४ करोड ५८ लाख ४० हजार बराबारको आय व्यय हुने गरी पेश गरिएको बजेट सर्वसम्मत रुपमा पारीत गरिएको छ । गाउँपालिकाले १ देखि ७ वडाका लागि ५५÷५५ लाख र वडा नम्बर ६ का लागि ६० लाख बजेटको सिलीङ दिएको छ ।
बजेटबिना नै अघिल्लो आर्थिक वर्षमा योजना सम्झौता भएर काम समेत भएका योजनाहरुको भुक्तानीका लागि गाउँपालिकाले २७ लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले समुदायिक विद्यालयहरुमा कार्यरत बालविकास सहजकर्ता, विद्यालय सहयोगी, र माध्यमिक विद्यालयहरुमा लेखा सहायक कर्मचारीहरुका लागि १५ प्रतिशतले रकम वृद्धी गरेको छ ।
नीति कार्यक्रम एउटा बजेट अर्कै
सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले गाउँपालिकाको सामृद्धका लागि आर्कषक नीति कार्यक्रम पेश गरेपनि नीति कार्यक्रमलाई सम्बोधन गर्ने एउटा पनि बजेट भने समावेश गरिएको छैन । चुनावी घोषणापत्र अनुसार आर्कषक रुपमा नीति कार्यक्रम पेश भएपनि बजेट भने नीति कार्यक्रम विपरीत देखिएको छ ।
गाउँपालिकाले विभिन्न १४१ शिर्षक अन्र्तगत बजेट कनिका झै छरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको पदवहाली कार्यक्रममा गरेको निर्णय कार्यन्वयनका लागि समेत गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । अध्यक्ष उपाध्यक्ष ले पदबहाली गर्दा सुनकोशी गाउँपालिकाका महिलाहरुले स्वास्थ्य केन्द्रमा बच्चा जन्माउने सुत्केरी महिलाहरुलाई एक हजार पाँच सय र छोरी जन्मिएको हकमा थप एक हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्दे पदभार ग्रहण गरिएको थियो ।
त्यसैगरी नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगी जेष्ठ नागरिकहरुलाई चिकित्सकको कागजातको आधारमा घरैमा औषधी दिने निर्णय भएपनि त्यसका लागि समेत बजेट विनियोजन गरिएको छैन । अन्य धेरै आर्कषक कार्यक्रमहरु नीति कार्यक्रममा समेटीएपनि त्यसका लागि समेत बजेट विनियोजन भएको छैन ।
करारका कर्मचारीहरुको करार नविकरण गरिने
नेपाली कांग्रेसबाट निर्वाचीत उपाध्यक्षसहित वहुमत सदस्यहरु असार ३२ गतेको गाउँ सभामा उपस्थित नभएपछि गाउँपालिकाले करारका कर्मचारीहरुको करार नविकरण नगर्ने निर्णय गरेको थियो । नेपाली काग्रेसबाट निर्वाचित उपाध्यक्ष सहित गाउँ सभाको बहुमत सदस्यहरुले करारका कर्मचारीहरुको करार नविकरण गर्नुपर्ने अडान राखेका थिए ।
करारका कर्मचारीहरुको करार नविकरण नहुने हो भने बजेट र नीति कार्यक्रम पारीत नगर्ने चेतावनीपछि गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना आफ्नो पुर्ववत अडान बाट ब्याक भएका थिए ।
काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले अघिल्लो कार्यकालमा वितरण गरिएको ट्याक्टर र पाइपको रकम भुक्तानी गर्नुपर्ने अडान लिएका थिए । तर प्रक्रिया नपुगी टयक्टर र पाइप वितरण गरिएकाले त्यसको भुक्तानी गर्न समस्या हुने स्वयम कर्मचारीहरुले समेत भनेपछि काग्रेसबाट निर्वाचीत जनप्रतिनिधिहरु त्यो अडानबाट ब्याक भएका थिए ।
गाउँपालिकामा करारका झण्डै ९५ प्रतिशत कर्मचारीहरु कांग्रेस निकटका रहेका छन् । चुनावको बेला दलको झण्डा बोकेर हिड्ने समेत गाउँपालिकाका कर्मचारीहरु भएपछि त्यसको सबै क्षेत्रबाट विरोध भएको थियो । तर सबैको करार नविकरण हुने भएपछि करारका कर्मचारीहरु अब गाउँपालिका अध्यक्षप्रति भन्दा पनि काग्रेसप्रति बढी उत्तरदायि हुने भन्दै केही वडाध्यक्षहरुले त्यसको विरोध समेत गरेका थिए ।
तर काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले भने करारका कर्मचारीहरुलाई कुनै पनि हालतमा हटाउन नहुने अडान बाट ब्याक नभएपछि सम्झौतामा गाउँ सभा गर्नुपरेको स्रोतको दाबी छ । गाउँपालिकाले सवारी साधान खरिदका लागि ४० लाख समेत विनियोजन गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *