मध्यरातमा हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई पक्राउ – Nepal Press

मध्यरातमा हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई पक्राउ

रुपन्देही । हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाई पक्राउ परेका छन् ।

ती महिला बहुविवाह मुद्दामा साउन ११ गते पक्राउ परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय बाँकेले असइ चौलागाइँलाई हिरासतमा लिएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ ।

असई चौलागाईले हिरासतमा रहेकी ती महिलालाई मध्यराति आफू सुत्ने कोठामा लिएर गएको पुष्टि भएपछि पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

चौलागाईले बहुविवाहको मुद्दामा थुनामा रहेकी महिलालाई आवश्यक शोधपुछका लागि भन्दै शुक्रबार मध्यराति दुई बजे हिरासतको माथिल्लो तलामा पुर्‍याएका थिए ।असई चौलागाईले आफू सुत्ने कोठामा लगेर महिलालाई सामान्य सोधपुछ गर्नुका साथै हातपात पनि गरेको आरोप लागेको छ ।

‘हिरासतमा रहेकी महिलालाई निकालेर भवनको माथिल्लो तलामा लगेपछि चौलागाईमाथि यौन दुर्व्यवहार तथा बलात्कार भएको आशंकामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान गरिहेका छौँ ।’ एसपी अधिकारीले भने ।

असई चौलागाईंले हिरासतमा भएकी महिलालाई मध्यरातमा निकाल्न आदेशपछि हिरासतमा बसेका अरूले हो–हल्ला गरेका थिए । उनले उक्त महिलालाई १० मिनेटसम्म कोठामा राखेको बताइएको छ । बर्दिया घर भई विगत ८ महिनादेखि चौलागाई इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत छन् ।


प्रतिक्रिया

One thought on “मध्यरातमा हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर