किरणको काम छैन, विप्लवको अर्थ छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड (भिडिओ) – Nepal Press

किरणको काम छैन, विप्लवको अर्थ छैन, बाबुराम त माओवादी नै होइनन् : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहन वैद्य किरणको काम नभएको, नेत्रविक्रम चन्द विप्लवको अर्थ नरहेको र डा. बाबुराम भट्टराई माओवादी नै नभएको टिप्पणी गरेका छन् ।

शनिवार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहेको बताउँदै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘यो निर्वाचनबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरूको काम छैन भन्ने स्पष्ट भयो । किरण माओवादीको काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन । उनले थप्दै भने, ‘१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ ।’

प्रचण्डले स्थानीय तहमा झन्डै एक सय ७५ नजिक सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताको कारण पूरा हुन नसकेको बताउँदै भने , ‘१२२ पुग्यौँ । ५० सिट गुमायौँ, । २० सिट आए पनि तेस्रो हुन्थ्याैं तर त्यो निर्णायक हुँदैनथ्यो । अहिले हामी निर्णायक तेस्रो शक्ति छौं ।’

उनले एक पटक पुनः देशको बागडोर माओवादीका हातमा ल्याएर सुशासन र विकासको उदाहरण पेश गर्ने आफ्नो धोको रहेको पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर