छानबिन समितिमा सदस्य रहेका ढकालले भने- सत्तापक्षका सांसदहरूकै कारण शर्मा विरुद्धको अभियोग पुष्टि भएन (भिडिओ) – Nepal Press

छानबिन समितिमा सदस्य रहेका ढकालले भने- सत्तापक्षका सांसदहरूकै कारण शर्मा विरुद्धको अभियोग पुष्टि भएन (भिडिओ)

काठमाडौं ।  नेकपा एमालेका नेता भानुभक्त ढकालले सत्तापक्षका सांसदहरूकै कारण अर्थमन्त्री जनार्दन शर्मा विरुद्धको अभियोग पुष्टि हुन नसकेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा ढकालले करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिले पनि प्रभावकारी काम गर्न नपाएको बताए । सत्ता पक्षका सांसद र समितिकै कारण प्रभावकारी छानबिन नभएको उनले आरोप लगाए ।

‘सत्ता पक्षबाट प्रतिनिधित्व गरेको माननीय ज्यूको भूमिका भनेको प्रमाण नजिक पुग्दा सत्ता तथ्य उजागर होला भन्ने भय र आतंकबाट उहाँहरू आतङ्कित हुनु भयो’ उनले भने, ‘उहाँहरूको त्यही अडा ले छानबिन गरेर एउटै प्रतिवेदन बुझाउने स्थिति भएन ।’

समिति र सत्तापक्षका सांसदहरूका कारण फरक–फरक निष्कर्ष निस्किएको ढकालले बताए ।

‘अनधिकृत व्यक्ति प्रवेश गरेर करको दरमा हेरफेर गरेको कुरा बयान र सिसिटिभीको कारणले प्रवेश गरेन भन्ने उहाँहरूको निष्कर्ष हो । हाम्रो आवश्यक प्रमाणहरूको गुपचुप गरेका कारणले र यथेष्ट प्रमाण बुझ्नको निम्ति सत्तापक्षका माननीय र समिति तयार नभएका कारण पर्याप्त प्रमाणको अभावमा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने कुरामा निष्कर्षमा पुग्न सकिएन हाम्रो मत हो ’ ढकालले भने, ‘यसले गर्दा हामीले फरक मत राखेर पठाएका हौँ ।’

अर्थमन्त्रीमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा ढकाल सदस्य छन् । त्यसमा ढकाल सहित खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव थिए ।

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले छानबिनमा ‘केही प्रमाण भेटिएन’ राखेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको थियो ।

२२ असारमा गठन भएको ११ सदस्यीय समितिले १७ दिनपछि शुक्रवार छानबिनमा ‘केही प्रमाण भेटिएन’ राखेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको थियो । एमाले सांसदहरू भने यस बाट रुष्ट छन् ।

शनिवारको कार्यक्रममा ढकालले प्रमाण नष्ट राज्य शक्तिको दुरुपयोग गरेको समेत आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *