गाली खान तयार छौं, तर फोहोरका विषयमा हतारिएर निर्णय लिँदैनौं: मेयर बालेन्द्र (भिडिओ) – Nepal Press

गाली खान तयार छौं, तर फोहोरका विषयमा हतारिएर निर्णय लिँदैनौं: मेयर बालेन्द्र (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूहरु तत्काल नदेखिने तर दिगो प्रभाव पर्ने काममा जुटिरहेको बताएका छन् । काठमाडौंको फोहोरका सन्दर्भमा पनि दिगो समाधानका लागि धैर्यता लिइरहेको उनको भनाइ छ ।

पोखरामा आयोजित महानगरका मेयर तथा उपमेयरको सम्मेलनमा बोल्दै साहले यस्तो धारणा राखेका हुन् । उनले अन्य महानगरले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै रहेको बताए । काठमाडौंले गरेका गल्ती नदोहोर्‍याउन अन्य महानगरलाई उनले आग्रह गरे ।

सम्मेलनमा सम्बोधन गर्दै साहले महानगरले अहिले फोहोरको समस्या, पानीको समस्या कंकिटको समस्या भोगिरहेको उल्लेख गरे । अरु महानगरमा काठमाडौंको जस्तो बेहाल अवस्था नआओस् भनेर सचेत हुनुपर्ने उनको भनाइ छ ।

साहले भने ‘हाम्रोमा विजुली जति पनि छ । बायोग्यासको प्रभावकारीता छैन । त्यसैले मल उत्पादनलाई नै सबैभन्दा उपयुक्त विकल्प सोचिएको हो । यसमा हामी हतार गर्ने पक्षमा छैनौं ।’

उनले थपे, ‘हामीले गाली खाइखाइ फोहोर व्यवस्थापनका लागि किन समय कुरेको भन्दा हामीलाई तुरुन्तै हुने तर दिर्घकालीन नहुने व्यवस्था चाहिएको छैन । यस्तो चीज चाहिएको छ कि भोलि ३०/५० वर्ष पछाडि पनि हाम्रो छोराछोरीले हामीलाई बाउबाजेले देश विगारे भनेर गाली नगररुन् ।’

सामाजिक सञ्जाल र मिडियामा नराम्रो कुराहरू आउने र राजनीतिक दवावमा निर्णय लिने प्रवृत्ति रहेको उनले बताए ।

‘अहिले पनि तुरुन्तै दुई/पाँच अर्ब खर्च गरेर मेसिन ल्याउने हो भने फोहोर व्यवस्थापन गर्न सकिन्छ । तर, त्यो दिगो समाधान होइन ।’

काठमाडौं महानगरपालिकाबाट सिक्न सकिने एउटा काम भएको उनको भनाइ छ ।

‘काठमाडौं महानगरबाट सिक्नुपर्ने भनेको एउटा सानो काम छ । हामीले हरेक महिनाको सोमबार काठमाडौं महानगरपालिका, सडक विभाग, विद्युत प्राधिकरण, बागमती सभ्यतालगायत जति पनि निकाय छन्, उहाँहरु सबैलाई राखेर मिटिङ गर्छाैं । सहकार्य गर्छौैं । उहाँहरुको बार्षिक बजेट के–के छ भन्ने हेरेर नदोरिने गरी काम गर्छौं ।’

एक वर्ष नदेखिने काम गरेर महानगरवासीको गाली खान तयार रहेको उनले बताए ।

मेयर साहले भने, ‘अहिले महानगरले गरेको काम तत्काल नदेखिए पनि नदेखियोस्, तर ५० वर्ष पछिसम्म टिकोस् । हाम्रो बुझाइ के छ भने काम बरु नदेखियोस्, तर सँधैका लागि होस् । हामी नआत्तिइकन गछौ । हामी एक वर्षसम्म महानगरबासीबाट गाली खान तयार छौं । तर हामीले महानगर राजधानीलाई जोगाउनुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *