अर्थमा जनार्दनको कमब्याक हुँदा सचिव मरासिनीलाई नैतिक संकट – Nepal Press

अर्थमा जनार्दनको कमब्याक हुँदा सचिव मरासिनीलाई नैतिक संकट

काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्माको कमब्याक हुँदा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी नैतिक संकटमा परेका छन् । आज मन्त्रालयमा शर्माले पदभार ग्रहण गर्दा मरासिनी बिनाजानकारी अनुपस्थित रहे ।

मन्त्रालय स्रोतका अनुसार हिजोसम्म मरासिनी कार्यालयमा आएका थिए । उनले आज बिदामा बसेको भनेर मन्त्रालयमा औपचारिक जानकारी गराएका थिएनन् ।

अर्थ मन्त्रालयमा दुई जना सचिव रहने व्यवस्था छ । मन्त्रीपछि समग्र मन्त्रालय हेर्ने सेकेन्ड म्यान मरासिनी हुन् । अर्का सचिव कृष्णहरी पुष्करले राजश्वको पाटो हेर्छन् । आज आज मन्त्रालयमा पुष्करले नै अर्थमन्त्री शर्माको स्वागत गरेका छन् ।

यसअघि अर्थमन्त्रीबाट राजीनामा दिन शर्मालाई चर्को दबाब परेका बेला सचिव मरासिनी अचानक बिदामा बसेका थिए । उनले आफूलाई सन्चो नभएको भनेर अनिश्चितकालीन बिदा लिएको समाचार त्यस बेला सञ्चारमाध्यममा आएका थिए । यसले शर्मालाई थप दबाब पर्‍यो र भोलिपल्टै उनले राजीनामा दिए ।

सन्चो नभएको भनेर बिदा बसेका मरासिनी अर्थमन्त्रीबाट शर्माले राजीनामा दिएको भोलिपल्टबाट फेरि मन्त्रालयमा प्रकट भए । यसबाट अर्थमन्त्री शर्मासँगको व्यक्तिगत असन्तुष्टिका कारण उनी बिरामीको बहानामा बिदा बसेको पुष्टि भएको थियो ।

हालै शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले अर्थ सचिवको बयान लिने क्रममा यो विषय पनि कोट्याएको थियो । मरासिनीले आफूलाई त्यस बेला मानसिक दबाब परेकाले बिदामा बसेको बताएका छन् ।

समितिलाई उनले भनेका छन्, ‘मलाई सामाजिक सञ्जालमा नानाथरि आरोप लगाउन थालिएपछि मानसिक दबाब खेप्न नसकेर बिदामा बसेको हुँ ।’

अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले लिएपछि उनकै आग्रहमा आफू फेरि मन्त्रालय आएको मरासिनीको भनाइ छ ।

‘सरकार प्रमुखले नै फोन गरेर सहयोग गर्नुपर्‍यो भन्नुभएपछि मैले स्वीकार नगर्ने कुरै भएन,’ मरासिनीले भनेका छन् ।

अर्थमन्त्रीमाथि थप दबाब बनाउँदै बिदामा बसेका मरासिनीले संसदीय समितिमा भने शर्माविरुद्ध बोलेनन् । उनले मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप अस्वीकार गरेका थिए । अन्ततः शर्मालाई संसदीय समितिले सफाइ दियो ।

आरोपबाट प्राविधिक रूपमा सफाइ पाएसँगै माओवादीले फेरि शर्मालाई अर्थमन्त्रीमा सिफारिस गर्‍यो र प्रधानमन्त्रीले पनि कत्ति ढिलाइ नगरीकन त्यसलाई सदर गरिदिए । फलतः अर्थ मन्त्रालयमा २५ दिनपछि शर्माको कमब्याक भएको छ । र, यसले सचिव मरासिनीलाई भने समस्यामा पारेको छ । अब कुन मुखले उनी मन्त्रालयमा काम गर्न फर्किन्छन् भनेर सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन् ।

सचिव भनेको मन्त्रीको मातहतमा रहने पहिलो कर्मचारी भएको हुँदा उनीहरूबिच अविश्वासको वातावरणमा मन्त्रालय अघि बढ्न सक्दैन । हरेक विषयमा मन्त्री र सचिवबीच सरसल्लाह गरेर निर्णय लिनुपर्ने हुन्छ । शर्माले अब मरासिनीलाई नै विश्वासमा लिएर अगाडि बढ्छन् वा उनको विकल्प खोज्छन् भन्ने हेर्न बाँकी छ ।

स्मरणीय छ कि मरासिनीलाई शर्माले नै अर्थ मन्त्रालयमा तानेका हुन् । २०७८ साल साउनमा मन्त्रिपरिषद् बैठकले तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्दै मरासिनीलाई मन्त्रालयमा तान्ने निर्णय गरेको थियो ।

त्यसअघि उनी महालेखा परीक्षक थिए । उनले लामो समयदेखि अर्थ मन्त्रालयमा रहेर अनुभव संगालेका छन् । उनले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय तथा समन्वय महाशाखा प्रमुख भएर काम गरेका थिए । त्यस्तै अमेरिका स्थिति विश्व बैंकको नेपाल डेस्क प्रमुख भएर काम गरेको अनुभव पनि उनीसँग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *