दृष्टिविहीन भगिमान खापुङ: राजा वीरेन्द्रको जन्मोत्सवमा पाए शिक्षाको अवसर, अनि बने बीएम सर – Nepal Press

दृष्टिविहीन भगिमान खापुङ: राजा वीरेन्द्रको जन्मोत्सवमा पाए शिक्षाको अवसर, अनि बने बीएम सर

इटहरी । २०२३ असार २८ मा जन्मेका भगिमान खापुङ तेह्रथुमको मोराहाङ बजारै मुन्तिरको गाउँघरमा बस्थे । मेन्छ्यायेम गाउँपालिका मुकाम मोराहाङको गौखुरी स्कुल जाने आफ्ना उमेरका साथीहरु देखेर उनी दंग हुन्थे । साथीहरुले काठको पाटी बोकेका हुन्थे । रातो माटो बोकेका हुन्थे । अहिले जस्तो सहज कापी–कलमको जमाना नभएको युगमा बाल्यकाल बिताएका भगिमानले काठको पाटी र रातो माटो बोकेर विद्यालय जानै पाएनन् ।

जुन दिन उनी विद्यालय जान पाए । त्यो दिन उनी आँखा नदेख्ने भएका थिए । उनले गाउँकै गौखुरी स्कुल जान पाएनन् । उनी गए धरानको ज्ञानचक्षु स्कुल । ज्ञानचक्षु स्कुलका उनी प्रथम पुस्ताका विद्यार्थी हुन् । ज्ञानचक्षु अध्ययनको ढोका खोलिएको कथा रोचक छ ।

आठ वर्षमा गुम्यो आँखाको ज्योति, राजाको जन्मोत्सवले दियो शिक्षाको ज्योति

२०३१ सालताका भगिमान खापुङ आठ वर्ष हाराहारीका थिए । उनको आँखा चिलाउन थाल्यो, पोल्न थाल्यो । पछि त आँखा पाक्यो । फूलो पर्‍यो । डाक्टरलाई देखाउने कुरा न परिवारले सोच्यो न त गाउँले अगुवाले भने । बरु उनीहरुले धामीझाँक्रीलाई देखाए, झारफुक गरे । जसले गर्दा बाल्यकालमै आँखाको ज्योति गुमाउन बाध्य भए खापुङ ।

अहिले सम्झँदा उनलाई एकै विस्मात छ- समयमै उपचार भएको भए आँखाको ज्योति गुम्ने थिएन । धामी-झाँक्रीकोमा नलगेर डाक्टरकोमा उपचार गरेको भए आँखाको समस्या समाधान हुन्थ्यो । यी त आँखाको बिर्सनलायक सम्झना हुन् । खापुङका सम्झनलायक अरु पनि सम्झनाहरु छन् ।

उनलाई पूर्ण मिति याद छैन । साल याद छ । २०३४ सालको कुनै महिना उनको घरमा खबर आयो- आँखा नदेख्नेहरुलाई श्री ५ को सरकारले निःशुल्क पढाउँदैछ । पढाउने शिलान्यास राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा धरानमा हुँदैछ ।

यो खबर धरानबाट मोराहाङ आइपुग्दा खापुङका पिता आशबहादुर भने धरान पुगेका थिए । उनी धरान-धनकुटा सडक खन्न श्रमिक भएर त्यहाँ पुगेका थिए । घरमा एक्लै थिइन् खापुङकी आमा आशरानी । यो खबर आशरानीसामु तत्कालीन गौखुरीका हेडमास्टर परशुराम खापुङले ल्याएका थिए । परशुराम खापुङ अहिले प्रदेश १ का प्रमुख छन् । उनैले २०३४ मा यस्तो खबर ल्याउँदा आँखा नदेख्ने छोराले शिक्षा देख्ने कुराले आमा आशरानी खुशी भइन् । तर, धरानसम्म छोरालाई लैजाने पैसा नभएकोमा उनी दुःखी भइन् ।

आँखा नदेख्ने विद्यार्थीहरुलाई घरबाट लाने ल्याउने सबै कामलाई ६० रुपैयाँ रकमको सुविधा रहेछ । यसले खापुङ परिवारलाई राहत मिल्यो । ‘त्यो जमानाको ६० रुपैयाँ त धेरै ठूलो थियो’, आफ्नो स्कुले शिक्षा तयारीका दिन सम्झँदै खापुङ भन्छन्, ‘राजाबाट जिल्ला शिक्षा कार्यालयलाई सर्कुलर आएछ, जिल्लाबाट विद्यालयमा सर्कुलर आएछ र विद्यालयका हेडमास्टर परशुराम खापुङलाई हाम्रोबारेमा जानकारी भएकाले पढ्ने अवसर आएको थियो ।’

स्कुल पढ्ने अवसर त उनलाई कालिम्पोङमा पनि थियो । लाहुरे गिरिचन्द्र खापुङले कालिम्पोङमा पढाउने कुरा गरेका थिए । विभिन्न कारणले त्यो सम्भव भएन ।

धरानमा दृष्टिविहीन विद्यार्थीलाई मध्यनजर गरेर खोलिएको ज्ञानचक्षुमा खापुङले कक्षा ७ सम्म अध्ययन गरे । त्यसपछि उनी काठमाडौंको ल्याबोरेटरी विद्यालयमा पढे । प्रवेशिका परीक्षा त्यहीबाट पार लाए । आईए प्राइभेट विद्यार्थीको रुपमा दिए । स्नातक महेन्द्ररन्त क्याम्पस ताहाचलमा पढे । स्नातक सकेपछि उनले केही वर्ष पढेनन् । स्वअध्ययन गरेर स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट २०५६ सालमा सके ।

पढाइको आशा मारिसकेका खापुङले २०३४ मा विद्यालय टेकेर दुई दशकपछि २०५६ मा स्नातकोत्तर सकाए । मानविकी विषयका दक्ष विद्यार्थी भएर विश्वविद्यालयबाट बाहिरिएका खापुङको शिक्षाको जरो पञ्चायत नै थियो । पञ्चायतको राजाको जन्मोत्सव नै थियो ।

यही व्यक्तिगत कारणले उनी पञ्चायतलाई गलतमात्रै भन्दैनन्, केही राम्रो काम भएको प्रणाली पनि भन्छन् । ‘त्यतिखेरको पञ्चायतकालमा आफ्नै खालको विशेषता छ’, खापुङ भन्छन्, ‘मान्छेले निरंकुश भने पनि जे भने पनि त्यहाँ पनि केही सुख-सुविधाहरु थिए ।’

तीन दशक शिक्षण सुखदुःख, प्रविधि आएपछि धेरै सजिलो !

बाल्यकालमा चाहेर पनि पढ्न नपाएको गौखुरी स्कुलको शिक्षक भए खापुङ । उनलाई धेरैले ‘बीएम सर’ भनेर सम्बोधन गर्छन् । उनले २०५१ बैशाख १७ बाट शिक्षण थालेका हुन् । २८ पुस्ता विद्यार्थी उत्पादन गरिसकेका उनले शिक्षण गरेको भने तीन दशक नाध्यो । गौखुरी पढाउनु अगाडि उनले काठमाडौंको जीतपुर स्कुलमा दुई वर्ष पढाए ।

तीन दशक शिक्षणका दौरानमा उनी धेरै विद्यार्थीहरु सम्झन्छन् । मेडिकल डाक्टर एकराज गौतम र काठमाडौं विश्वविद्यालयबाट हाल क्यानडा रहेका रामकुमार अधिकारी उनले धेरै सम्झिने नाम हुन् । अरु विभिन्न क्षेत्रमा सफलता पाएका विद्यार्थीहरुको नाम उनी खरर भन्न सक्छन् ।

खापुङको स्मरण शक्ति तीक्ष्ण छ । एकपटक सुनेर कुराकानी गरेको मान्छेलाई आवाजले उनी सजिलै चिन्छन् । उनको यही खुबी कक्षामा प्रयोग भएको छ । यही खुबीको कारण नयाँ भूगोलमा तीन दिनमा आफैं आउजाउ गर्न अभ्यस्त हुन सम्भव हुने उनी बताउँछन् ।

शिक्षक खापुङको अनुभवमा पढाउँदा एक किसिमको आनन्द छ । ‘विद्यार्थीसँगको हेलमेल, विद्यार्थीको मनमस्तिष्कबारेमा जान्न बुझ्न पाइयो’, खापुङ भन्छन्, ‘विद्यार्थीलाई मार्गदर्शन गर्न पाइयो । यो धेरै आनन्दको कुरा हो ।’

पञ्चायतका विद्यार्थी, संवैधानिक राजतन्त्रदेखि संघीय गणतन्त्रसम्म शिक्षक भएका खापुङले यो तीन दशकमा धेरै परिवर्तत पाएका छन् । पढाउने पाठ्यक्रम परिवर्तन भएको छ । विद्यालयका पूर्वाधार परिवर्तन भएका छन् । उनी पहिले गौखुरीको काठ, माटो र ढुंगा अनि टिनको संरचनामा पढाउँथे । अहिले त्यो कंक्रिट संचरनामा परिवर्तन भएको छ । पछिल्लो पाठ्यक्रम धेरै कामकाजी भएको उनको अनुभव छ । तर, तत्कालीन जीवन निर्वाह गरिहाल्ने खालको भने नभएको उनी बताउँछन् ।

उनको शिक्षणताका सुरुसुरुमा धेरै समस्या आएको थियो । ब्रेल लिपिको राम्रो व्यवस्था थिएन । नेट र सन्दर्भ सामग्रीहरुको व्यवस्था थिएन । अहिले त्यसको व्यवस्था राम्रो छ । अहिले प्रविधि र सूचना आएपछि खोजेको कुरा पाउन सजिलो भएको छ । अहिले कतिपय ब्रेल र बहुसंख्यक कुरा इन्टरनेटबाट लिने गरेकाले धेरै सजिलो भएको उनको अनुभव छ । उनी भन्छन्, ‘सूचना र प्रविधिको विकास भएपछि त धेरै सजिलो भएको छ । खोजेको कुरा सहजै पाउन सकिन्छ । म यसकै प्रयोग गर्छु ।’

भन्नलाई समान भनिए पनि आँखा देख्ने र दृष्टिविहीन शिक्षकमा फरक पर्ने खापुङको अनुभव छ । ‘आँखा देख्ने र नदेख्ने शिक्षकमा फरक त परिहाल्छ नि । कक्षा नियन्त्रण, कुन विद्यार्थी के गरिरहेको छन् बुझ्न देख्ने शिक्षकलाई हेर्न सजिलो हुन्छ’, खापुङ भन्छन्, ‘नदेख्नेलाई त्यो बुझ्न समस्या हुन्छ ।’

सबै विद्यार्थी खराब नहुने भएकाले पठनमै समस्या भने नहुने उनी बताउँछन् ।

अवकाशपछिको योजना बन्दै….

खापुङकी छोरी प्रज्ञा अहिले इटहरीको एक संस्थामा जागिर गर्छिन् । होममेकर श्रीमती जोसिला गाँउमै छिन् । २०८३ असार २७ गते भगिमान खापुङ शिक्षणबाट अवकाश हुँदैछन् । अवकाश जिन्दगीमा के गर्ने भन्नेमा उनले कुनै ठोस योजना बनाएका छैनन् । तर, योजनाविहीन अवकाश भने नहुने उनी बताउँछन् ।

नेपाल नेत्रहीन संघको निर्वाचित केन्द्रीय सदस्यसमेत हुन् खापुङ । उनी २०६२/६३ ताका उक्त पदमा थिए । हाल उनी मेन्छ्यायेम गाउँपालिकाको अपांग सशक्तीकरण नामक संस्थाका अध्यक्ष हुन् । नियमित शिक्षणबाहेक अन्य जिम्मेवारीसमेत छन् । सामाजिक संस्थाको नेतृत्व गरेको र शिक्षकको रुपमा बेग्लै पहिचान भएकाले राजनीतिमा आउने सम्भावनाबारे खापुङ भन्छन्, ‘त्यो हेर्नुपर्छ । सोच्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर