मध्यरातमा हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित
रुपन्देही । बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका असई प्रविण चौलागाई निलम्बनमा परेका छन् ।
बाँके प्रहरीका प्रवक्ता मधुसुधन न्यौपानेले बलात्कार आरोपमा मुद्दा दर्ता भएका असई चौलागाईलाई निलम्बन गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए ।‘निलम्बन गरेर अनुसन्धान सुरु गरिएको छ, ७ दिनको म्याद थपिएको छ उनले नेपाल प्रेससँग भने ।
११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई असई चौलागाईंले कोठामा लगेर करणी गरेको आरोपमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ। असई चौलागाईंले आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनलाई निलम्बन गरेर थप अनुसन्धान अगाडि बढाइएको हो ।
कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति २ बजे आफनो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ ।
थुनामा रहेकी महिलालाई आवश्यक शोधपुछका लागि भन्दै शुक्रबार मध्यराति दुई बजे हिरासतको माथिल्लो तलामा पुर्याएर सामान्य सोधपुछ गर्नुका साथै हातपात पनि गरेको आरोप लागेको छ । बर्दिया घर भई विगत ८ महिनादेखि चौलागाई इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत छन् ।