हिरासतकी महिलालाई कोठामा लगेर बलात्कार गरेको आरोप लागेका असई निलम्बित
रुपन्देही । बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका असई प्रविण चौलागाई निलम्बनमा परेका छन् ।
बाँके प्रहरीका प्रवक्ता मधुसुधन न्यौपानेले बलात्कार आरोपमा मुद्दा दर्ता भएका असई चौलागाईलाई निलम्बन गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए ।
‘निलम्बन गरेर अनुसन्धान सुरू गरिएको छ, ७ दिनको म्याद थपिएको छ’, उनले नेपाल प्रेससँग भने । ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई असई चौलागाईंले कोठामा लगेर करणी गरेको आरोपमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । असई चौलागाईंले आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनलाई निलम्बन गरेर थप अनुसन्धान अगाडि बढाइएको हो ।
कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति २ बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । थुनामा रहेकी महिलालाई आवश्यक शोधपुछका लागि भन्दै शुक्रबार मध्यराति दुई बजे हिरासतको माथिल्लो तलामा पुर्याएर सामान्य सोधपुछ गर्नुका साथै हातपात पनि गरेको आरोप लागेको छ । बर्दिया घर भएका चौलागाईँ ८ महिनादेखि इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत छन् ।