मापसेमा स्कुल बसका चालक : एकाबिहानै खान्छन् कि राति खाएकै देखिने हो ?
काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा चल्ने स्कुल बसहरूमा ट्राफिक निगरानी बढाइएको छ । साउनको पहिलो साताबाट थालिएको ट्राफिकको यो अभियानमा केही चालक कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनको पहिलो आइतबार विद्यार्थी बोकेका बसमा चेकजाँच गर्दा पाँचजना चालक मापसेमा परे । यो क्रम हिजो पनि जारी रह्यो ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो १६ वटा बस कारबाहीमा परेका छन् । तीमध्ये ५ वटा बसका चालकहरूले मादक पदार्थ सेवन (मापसे) गरेको भेटियो ।
स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत निगरानी बढाइएको ट्राफिकले बताएको छ ।
विद्यार्थी बोक्ने बसका चालकहरू नै मापसेमा पर्नु गम्भीर भएको ट्राफिक कार्यालय प्रमुख मिरा चौधरी बताउँछिन् ।
‘हामी अहिले सांकेतिक रूपमा मात्र जाँच गरिरहेका छौँ । यसले हाम्रा विद्यालयका व्यवस्थापकहरू पनि जिम्मेवार र गम्भीर बन्नुपर्ने देखाएको छ’, डीआईजी चौधरीले भनिन् ।
आफ्ना विधार्थी बोक्ने चालकहरू कसरी हिँडिरहेका छन् भन्ने पहिलो काम सम्बन्धित विद्यालयहरूको भएको उनले नेपाल प्रेससँग भनिन् ।
कारबाहीमा परेका चालकहरूले भने राति मापसे गरेको बताएका छन् । अबेर रातसम्म मापसे गर्दा बिहान पनी परीक्षणमा देखिएको ट्राफिक अधिकारीको भनाइ छ ।
प्राय: बिहानको समयमा ट्राफिक कार्यालयले मापसे जाँच गर्ने गरेको थिएन । साँझ भने दिनहुँजसो ट्राफिक टोली चोकचोकमा मापसे चेकजाँचमा खटिने गरेका छन् ।
‘मापसे देखिएपछि चालकहरूलाई मैले बेलुकै खाएको भन्ने छुट हुँदैन’, डीआईजी चौधरीले भनिन् ।