एकै परिवारका चारजनाको मृत्यु : पसल बेचेका दिनेशकी पत्नी यूके जाने तयारीमा थिइन् – Nepal Press

एकै परिवारका चारजनाको मृत्यु : पसल बेचेका दिनेशकी पत्नी यूके जाने तयारीमा थिइन्

छोराछोरी लिन स्कूल बस आउँदा मात्र थाहा भयो घटना

काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित काभ्रेस्थलीमा सोमबार बिहान विद्यार्थी उठाउँदै स्कुलको बस आइरहेको थियो । त्यही क्रममा तारकेश्वर-२ पदमचालमा दिनेश पाण्डेका दुई छोराछोरी लिन बसले कुरिरहेपनि नआएपछि हल्लाखल्ला भयो । स्थानीयहरू घर पुग्दा ढोका भित्रैबाट बन्द थियो ।

एक तलाको उक्त घरमा कुनै घटना भएको हुन सक्ने आशंकापछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका खोलेर हेर्दा भित्र चार जनाको शव बीभत्स अवस्थामा भेटिएको थियो । तारकेश्वर नगरपालिका—२ का वडाध्यक्ष राधाकृष्ण खड्गीका अनुसार अहिले घटनास्थलमा मुचुल्का भइरहेको छ ।

‘पोस्टमार्टमका लागि शव लैजाने तयारी भइरहेको छ,’ वडाध्यक्ष खड्गीले भने । घटनास्थलमा पाण्डेकी ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक बीभत्स अवस्थामा मृत भेटिएका थिए ।

गोरखाको आश्राङ स्थायी घर भएका पाण्डेको परिवार पदमचालमा चार वर्षअघि नयाँ घर बनाएर बसिरहेको थियो । ‘केही समय अघिसम्म दिनेश जीको इलेक्ट्रिक पसल रहेछ। अहिले त्यो बेचिएको भन्ने जानकारीमा आएको छ’, खड्गीले भने ।

उनका अनुसार सुनिता सिजनल भिसामा यूके जाने तयारीमा थिइन् । ‘बूढाबूढीबिच सामान्य झगडा हुन्थ्यो भन्ने स्थानीयले भन्नु भएको छ’, खड्गीले भने ।

प्रहरीले हत्यापछि आत्महत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । तर घटनाको कारणबारे प्रहरीले केही तथ्य बाहिर ल्याएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *