एकाघरका चारजनाको मृत्यु : दिनेशको सुसाइड नोटमा के छ ?
काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका सबै चार जना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
घटनास्थलमा ८ पेजको सुसाइड नोट पनि प्रहरीले फेला पारेको छ । उक्त नोट दिनेश पाण्डे आफैले लेखेको प्रहरीले दाबी पनि गरेको छ ।
सुसाइड नोटमा उनले छोराछोरीहरुको माया लागेर आफूसँगै लगेर गएको उल्लेख गरेका छन् । प्रहरीका अनुसार श्रीमतीले सँगै खान बस्न समेत नदिने, ट्वाइलेट जाँदा पनि मोबाइल सँगै लिएर जाने लगायतका कुराहरू नोटमा उल्लेख गरिएको छ ।
यस्तै खाडीमा आफूले ११ वर्ष मिहेनत गरेर कमाएको सम्पत्ति श्रीमतीका दाजुभाइ मिलेर खान खोजेको र आफूलाई महिला हिंसा गरेको भन्दै जेल समेत पठाउन खोजेको नोटमा उल्लेख छ ।
प्रहरीका अनुसार मृतक दम्पतीबिच सम्बन्ध बिग्रिएको बुझिन्छ ।
श्रीमतीले अन्य केटाहरूसँग म्यासेन्जरमा गरेका कुराकानीको स्क्रिन सटको प्रिन्ट गरेर सुसाइड नोटसँगै राख्नुले दिनेशले सुनितामाथि शंका गर्ने गरेको र उनीहरूबीचको सम्बन्ध बिग्रिएको पाइएको प्रहरीको भनाई छ ।
तारकेश्वर नगरपालिका-२ पदमसालस्थित एकतले घरमा सोमबार बिहान ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक विभत्स अवस्थामा मृत भेटिएका थिए ।