उपमेयरकै बुहारी न्याय माग्दै प्रहरीमा, उपमेयर भन्छिन् छानबिन होस् – Nepal Press

उपमेयरकै बुहारी न्याय माग्दै प्रहरीमा, उपमेयर भन्छिन् छानबिन होस्

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरी चौधरीकी बुहारी महिला हिंसामा परेको भन्दै न्याय माग्न प्रहरीसमक्ष पुगेकी छन् । उपप्रमुख पालिका स्तरको न्यायिक समिति संयोजक पनि भएकाले उनको विषय प्रहरीमा पुगेपछि सामाजिक सञ्जालमा आलोचना बढेको छ ।

तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया वर्षा थारु पटक पटकको घरेलु हिंसामा परेर न्याय माग्न प्रहरी कार्यालयमा पुगेकी हुन् । श्रीमान् मोहन थारुले दैनिक रूपमा लागूपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा वर्षाले उजुरी दिएकी हुन् ।

विषय गम्भीर रहेकाले घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले बताए । वर्षाले श्रीमानले कुटपिट गरेर शरीरमा घाउचोट लागेको, दैनिक लागूपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक तनाव दिएको, घरमा पीडा सुनाउँदा सासू ससुराले बेवास्ता गरेको, दैनिक खर्चसमेत नदिँदा समस्या परेको प्रहरीसमक्ष आरोप लगाएकी छन् ।

‘पटक पटकको यातना सहन नसकेपछि प्रहरीसमक्ष उजुरी दिएकी हुँ, आइतबार पनि मलाई कुटपिट गरी घाइते बनाएपछि दिदीको घरमा गएर बसेकी हुँ’नलले भनेकी छन् ।

एक छोराकी आमा वर्षा थारुले आफूले न्याय नपाएसम्म घर फर्कन नसक्ने बताइन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले वर्षाका श्रीमान् मोहन थारु सम्पर्कविहीन भएको र घटनाको थप अनुसन्धान जारी रहेको बताए ।

यो विषयमा उपप्रमुख चौधरीले अन्यायमा पर्न कोही नहुने तर यसको वास्तविकता नै नबुझी सामाजिक सञ्जाल र मिडियामा आलोचना भएको बताइन् ।

‘न्याय महिला मात्रै होइन पुरुषले पनि पाउनुपर्दछ, चरित्रहत्या कसैले कसैको गर्न पाइँदैन नि, गल्ती कसको हो भन्ने विषय उजुरी दिने र आरोप लगाउनेसँग बुझ्नुपर्दछ, गल्ती गर्ने जोसुकैले सजाय पाउने कुरामा म विश्वस्त छु उजुरी दिनेको पनि अनुसन्धान पक्कै हुनेछ र गल्ती गर्नेले कारबाही भोगाउने हाम्रो दायित्व हुनेछ’– चौधरीले भनिन् । प्रहरीले नगरे आफूले सबै विषय पत्रकारलाई केही समयमा नै सार्वजनिक गर्ने उनले दाबी गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *