भूकम्पको क्षति र जोखिम अध्ययनका लागि टोली परिचालन गर्न डा. तुलाधरको माग
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पार्टीका विपद व्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधरले हालै खोटाङ आसपासमा गएको भुकम्पले गरेको क्षतिको अध्ययन गर्न सरकारसँग माग गरेका छन् ।
उनले कतिपय स्थानीय निकायहरूबाट त्यसबारेमा माग समेत भइआएको भन्दै पालिकाहरूमा भूकम्पीय विपद जोखिम र क्षतिको तत्काल अध्ययनको आवश्यकता औंल्याएका हुन् ।
नेपाल सरकार अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनिकरण र व्यवस्थापन परिषदका विज्ञ सदस्य समेत रहेका तुलाधरले क्षतिको माग गर्दै कतिपय स्थानीय निकायहरूले माग समेत गरेको र वर्षासँगैको भूकम्पले जनधनको के कति क्षति भएको हो त्यसको यथार्थ विवरण संकलनसहित आवश्यक क्षतिपुर्ति र सहयोग समेत सरकारको तर्फबाट गर्नुपर्ने भन्दै अविलम्ब अध्ययन टोली त्यसतर्फ पठाउन नेपाल सरकारसँग माग गरेका छन् ।
खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ ।
हालसम्म संकलन विवरणअनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जिल्ला विपद व्यवस्थापन कार्यालयले जनाइएको छ । साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरूपमा भत्किएको छ ।
साकेला गाउँपालिकाका अनुसार भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको छ । जस्मा बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो ।
भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिए । ‘जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको विवरण चाहीँ तीन दिनभित्र दिन आग्रह गरिएको बताइएको छ ।