जीवराजविना न्यौपाने परिवारकाे २९ वर्ष, बुवाको सम्झना यसरी गर्छन् डाक्टर सागर
रुपन्देही । २९ वर्ष अगाडि जीवराज आश्रितको मृत्यु हुँदा उनका छोरा सागर ११ वर्ष र छोरी उषा १४ वर्षकी थिइन् । राजनीतिमा लागेकै कारण उनको परिवार त्यो बेला अस्थायी रुपमा काठमाडौंमै बसेको थियो ।
दासढुंगामा २९ वर्षअघि रहस्यमय दुर्घटनामा परेर मृत्यु भएका नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख आश्रितको आज साउन १८ गते जन्मदिन हो । यति लामो समयसम्म उनी कसको योजनामा मारिए भन्ने कारण परिवारले पाएको छैन । साउन १८ मा परिवारका सदस्यले उनको सम्झना गर्दै यसको कारण खोजिरहेका छन् ।
जीवराजविना छोरा र छोरीको अध्ययन, आफ्नो नियमित खर्च तथा परिवार व्यवस्थापनमा माया न्यौपानेले निरन्तर संघर्ष गर्नुपर्यो ।
अहिले बाहिर हेर्दा उनीहरुको परिवारकै व्यवस्थापन राम्रो भएको छ । तर, यो बीच अनेकौं संघर्ष उनीहरुले झेल्नुपर्यो । अहिले जीवराजकी श्रीमती माया न्यौपाने प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छिन् । छोरा सागर न्यौपाने ग्यास्टिक क्यान्सरमा एमडी तथा डीएम सकाएका छन् । छोरी उषा न्यौपाने काठमाडौंमै घरजम गरेर सरकारी सेवामा छिन् ।
बुवाको मृत्यु हुँदा सागर काठमाडौंको सिद्धार्थ वनस्थलीमा कक्षा ५ मा अध्ययनरत थिए । उनलाई बुवाको स्नेह र स्वभाव अझै सम्झना छ । बुवाको स्मरणबारे सागर भन्छन्, ‘कडा स्वभाव भए पनि घरमा आएपछि अत्यन्तै माया गर्नुहुन्थ्यो । अत्यन्तै कम बोल्ने र मिजासिलो बोलीचालीको सम्झना छ । अनुहारको आकृति आउँछ सम्झनामा’, न्यौपाने भन्छन्, ‘राजनीतिमै धेरै समय बित्ने भएकाले यसै पनि घरमा कम समय हुन्थ्यो । तर, आएपछि सबै कुरा सोध्ने-खोज्ने गरेको याद आउँछ । म सानै भए पनि बुवाको अनुहार, बोलीचाली सबै सम्झना आइरहन्छ ।’
बुवाको माया स्नेह गुमाएको २९ वर्ष बिते पनि सागर आफ्नो निरन्तरको अध्ययन, आमा र दिदीको खुशीका लागि निरन्तर लागिरहे । बुवाको अकल्पनीय निधनपछि उनको अध्ययनमा पनि केही समस्या आयो ।
‘त्यतिबेला म सानै थिएँ, सिद्धार्थ वनस्थलीमा पढ्थें । तर, बुवाको निधनपछि मलाई समस्या भयो । छात्रवृत्ति रोकियो । मेरो ९० प्रतिशतमा केही अंक नपुगेको भनेर तत्कालीन प्राचार्य लक्ष्मण राजवंशीले छात्रवृत्ति दिन नसकिने भनेपछि मम्मीको मन दुख्यो, अनि त्यहाँ पढ्न छोडियो’, सागरले भने, ‘त्यसको केही समयपछि बुढानिलकण्ठमा गएको हुँ । संयोगले नयाँ भर्ना खुलेको रहेछ । शिक्षक संगठनले मेरो खर्चको व्यवस्थापन मिलाएको थियो । त्यहीबाट प्लस टु गरेर विज्ञानमा अगाडि पढ्न चीन गएँ ।’
पढाइमा तीक्ष्ण सागरलाई पार्टीले सिफारिस गरेर दूतावासमार्फत चीनमा स्कलरसीपमा पठाएको थियो । ‘म पढेपछि नेपाल आएर आमाको नजिक बसेर काम गर्ने सोच राखेर पढ्न गएको हुँ । भनेअनुसार नै नतिजा ल्याउनसकें र अहिले यहाँ आएका काम गर्न पाएको छु’, सागर भन्छन् ।
अहिले सागर आफ्नो चिकित्सक पेशासँगै विभिन्न सामाजिक क्षेत्रमा जोडिएर सेवा सुरु गरेका छन् । जीवराजको निधनपछि मायाको राजनीतिक सक्रियता पनि उत्तिकै थियो । तर, पार्टीका केही नेताहरुले समूह नमिलेको भन्दै उनलाई अवसर नदिएको गुनासो न्यौपाने परिवारको छ । एकै दुर्घटनामा ज्यान गुमाएका मदन भण्डारीको परिवारलाई जस्तै पार्टीले न्यौपाने परिवारलाई वास्ता नगरेको पनि आश्रितका समर्थकले बेला-बेलामा उठाइरहेका छन् । तर, एमाले नेताहरुले भने सकेसम्म स्थान दिन खोजिएको बताउँछन् ।
मायालाई २०५६ सालमै राष्ट्रियसभामा लैजाने गरी एमालेले उम्मेदवार बनाउन खोजेको थियो । तर, उनले तत्कालीन विभाजित माले रोजेर उताबाट उम्मेदवार बनेर अवसर नपाएको भन्दै आएको छ । मालेबाट उनी उम्मेदवार त बनिन् । तर, त्यो जित्ने उम्मेदवारी थिएन । उनी उम्मेदवार नबनेपछि एमालेले देवेन्द्र घिमिरेलाई त्यतिबेला राष्ट्रियसभामा पठाएको थियो । पछि एमाले माले मिले पनि माले समूहबाट आएको भन्दै मायालाई फेरि पार्टीमा खासै स्थान दिइएन । पछिल्लोपटक एमाले अध्यक्ष केपी ओली आफैंले विशेष प्राथमिकता दिएर काठमाडौंबाट समानुपातिकमा प्रतिनिधिसभामा पठाएका हुन् ।
न्यौपाने परिवारले मात्र होइन जीवराजका प्रशंसकले पनि नेकपा एमालेले मदन भण्डारीको नाममा गरे जति लगानी आश्रितको नाममा नगरेको भन्दै आलोचना गर्दै आएका छन् । ‘रहस्यमय घटनामा ज्यान गुमाएका पार्टीका दुवै शीर्ष नेता हुन्, भण्डारी महासचिव हुँदा आश्रित संगठन विभाग प्रमुख थिए । एमालेमा यो पद शक्तिशाली हो । त्यसैले कसैलाई बढी र कम गर्नुहुँदैन’, आश्रितका प्रशंसकहरुले भन्ने गरेका छन् ।
यस्तो छ जीवराजको जीवनी
वि.सं २००१ साउन १८ गते आमा चन्द्रकला र बुवा प्रेमराज शर्माका जेठो सन्तानको रुपमा गुल्मीको हरेवा रिठारुखमा जन्मिएका आश्रित विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए ।
गुल्मीबाट २०२० सालमा रुपन्देहीको हसनापुरमा बसाइ सरेका आश्रितले २०२१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । आश्रितले वि.सं २०२६ देखि २०२८ सम्म जेल जीवन बिताएका थिए ।
२०२८ सालदेखि भूमिगत आश्रित २०४७ साल बैशाख १३ गते सार्वजनिक भएका थिए । भूमिगतकालमै २०२८ सालमा लुम्बिनी अञ्चल पार्टी व्यूरो सदस्य, २०३० सालमा अर्घाखाँची जिल्ला इन्चार्ज भएका आश्रित २०४९ सालको पाँचौं महाधिवेशनबाट एमाले पोलिटव्यूरो र संगठन विभाग प्रमुख बनेका थिए ।
मदन-आश्रितको मृत्युपछि उनीहरुको योगदानलाई ताजा र स्मरणीय बनाउन विभिन्न प्रतिष्ठान, संग्रहालय र स्मृति भवन बनाइएको छ । तर, महासचिवसँगै ज्यान गुमाएका आश्रितको योगदानलाई ओझेलमा पारिएको गुनासो छ । मदन भण्डारीलाई मात्रै प्राथमिकता दिएको भन्दै बुटवलमा आश्रित स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । आश्रितका विचार र योगदानलाई स्मरण गराइराख्न बुटवलमा सक्रिय एमाले कार्यकर्ता र उनका शुभेच्छुकहरुले आश्रित प्रतिष्ठान स्थापना गरेका हुन् ।
प्रतिष्ठानले उनको अनुभव, योगदानलाई नयाँ पुस्तामा परिचित बनाउन विभिन्न कार्यक्रम पनि गर्दै आएको छ । राजनीतिमा उनका समकालीनहरुले आश्रितसँगको सहकार्यलाई स्मरणीय बनाउन योगदान गरेका छन् यो प्रतिष्ठानमार्फत । प्रतिष्ठानले बुटवलको हिलपार्क गेट नजिकै आश्रितको नाममा चार तले घर बनाएको छ । यही भवनमा आश्रितको संग्रहालय सञ्चालनमा छ । जहाँ आश्रितको जीवनी झल्कन्छ । संग्रहालयमा आश्रितले प्रयोग गरेका सामग्रीहरु प्रदर्शनी गरिएका छन् । यसले आश्रितका समकालीनलाई त उनको झल्को मेटाउँछ नै । उनको इतिहास पढ्नेलाई पनि सचित्र वर्णन गरेको छ ।
आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे हराउन थालेका जीवराजलाई चिनाउन र बुझाउन संग्रहालय बनाइएको बताउँछन् । आश्रितको बारेमा जान्न र बुझ्न चाहने जो-कोहीलाई पनि संग्रहालय पाठशाला बनेको छ ।