पतिले जबर्जस्ती करणी गरेको आरोप लगाउँदै महिलाले दिइन् उजुरी
रुपन्देही । रुपन्देहीको तिलोत्तमाकी एक महिलाले पतिले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
आफू बिरामी भएको समयमा समेत पटक-पटक जबर्जस्ती करणी र शारीरिक हिंसा गरेको भन्दै तिलोत्तमा-१७ कि ती महिलाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी हुन् ।
उनले यो विषयमा सासूससुराले समेत पतिलाई संरक्षण गरेको उनको भनाइ छ ।
प्रहरीसमक्ष दिएको उजुरीका अनुसार गत साउन १४ गते राति पतिले मदिरा पिएर कुटपिट गरेपछि साउन १५ गते बिहान उनले इलाका प्रहरी कार्यालय मंगलापुरमा पुगेर उजुरी दिएकी थिइन् । उजुरीपछि पनि पतिले गाली बेइज्जती गर्दै कुटपिट गरेको उनको दाबी छ ।
उनको बयानको आधारमा जाहेरी दर्ता भइसकेको र कानुनी प्रक्रियामा अगाडि बढ्ने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
महिलाका परिवारले भने पुरानै कुरालाई लिएर विवाद बढेपछि निराधार आरोप लगाइएको दाबी गरेका छन् ।