सिङ्गो चीनमा तरङ्ग ल्याइदिने न्यान्सी पेलोसी को हुन् ?
काठमाडौं । वर्तमान समयमा सम्पूर्ण विश्वको ध्यान चीन र अमेरिकाबीचको तनावमा केन्द्रित छ । विश्वकै शक्तिशाली देशको रूपमा स्थापित हुने होडमा रहेका यी दुई देशबीचको बढ्दो तनाव युद्धमै परिणत हुन सक्ने आङ्कलन समेत सुनिन थालेको छ । यी दुई देशबीचको बढ्दो तनाव र सम्भावित युद्धको बहसको मुख्य कारक तत्त्वको रूपमा अहिले देखिएकी छन्, न्यान्सी पेलोसी ।
चीनको कटु आलोचकको रूपमा चिनिएकी अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी अहिले चीन र अमेरिकाको ताजा तनावकी ‘इपीसेन्टर’ को रूपमा पनि स्थापित भएकी छन् ।
यसो त चीन र अमेरिकाबीच पहिला देखि नै विश्वको महाशक्ति बन्नका लागि व्यापक प्रतिस्पर्धा चल्दै आएको छ । यद्यपि केही समय अगाडि न्यान्सीले चीनले आफ्नो अभिन्न अंगको रूपमा हेर्दै आएको ताइवानको भ्रमण गर्ने मनसाय व्यक्त गरेसँगै दुई देशबीचको तनाव छताछुल्ल भएको हो भन्न सकिन्छ ।
सिंगापुरको भ्रमण सकेर हिजो मात्र ताइवान पुगेकी न्यान्सीको भ्रमणले हाल चीन अत्यन्तै रुष्ट बनेको छ । ताइवानका क्षेत्रहरूलाई लक्षित चीनले सैन्य कारबाहीलाई तीव्रता दिइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यता ताइवान पुगेकी न्यान्सीले विश्व समुदायलाई अमेरिका ताइवानको पक्षमा छ भन्ने सन्देश दिनका लागि आफूले ताइवानको भ्रमण गरेको अभिव्यक्ति दिएकी छिन् ।
न्यान्सीले चीनको इच्छा विपरीत चीनलाई चिढ्याएको यो पहिलो पटक भने होइन उनले सन् १९९१ मा अकस्मात् बेइजिङ पुगेर तियान्आन्मेन नरसंहारका पीडितको समर्थनमा ब्यानर देखाएकी थिइन् । सो समयमा पनि चीन उनीबाट अत्यन्तै रुष्ट बनेको थियो । यति मात्र नभएर उनी तिब्बती निर्वासित नेता दलाइ लामाको पनि नजिकको व्यक्तिको रूपमा चिनिन्छिन् ।
चीन विरुद्ध न्यान्सीको ‘र्याडिकल थिङ्कीङ’ यतिमै सीमित छैन । गत वर्ष अमेरिकाले चीनले अल्पसङ्ख्यक उइगर र अन्य मुस्लिम समुदायमाथि गरेको दमनलाई नरसंहारको संज्ञा दिएको थियो ।
अमेरिकाले उक्त घोषणा गर्नुमा पेलोसीको मुख्य भूमिका रहेको बताइन्छ । ८२ वर्षीया न्यान्सी विगत ४० वर्ष देखि सार्वजनिक सेवा क्षेत्रमा आबद्ध छिन् । यसो त न्यान्सीको भ्रमणले चीनलाई मात्र नभई अमेरिका आफैँलाई पनि सशङ्कित बनाएको छ ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले जुलाई २२ अमेरिकी सेनालाई उद्धृत गर्दै यस किसिमका भ्रमण उपयुक्त नहुने धारणा समेत व्यक्त गरेका थिए ।
उनको भ्रमणलाई बेइजिङले उत्तेजना बढाउने कदमको रूपमा बुझ्न सक्ने राष्ट्रपति बाइडेनको चिन्ता रहेको छ ।