सिन्धुपाल्चोक जाने बसलाई पुरानो बसपार्कबाटै छुटाउने महानगरको अनुमति – Nepal Press

सिन्धुपाल्चोक जाने बसलाई पुरानो बसपार्कबाटै छुटाउने महानगरको अनुमति

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा यसअघि सिन्धुपाल्चोक लगायत राजधानी पूर्वका विभिन्न जिल्लाहरुमा छुट्ने बसका लागि बसपार्कको व्यवस्था गरिएको थियो । पुरानो बसपार्कमा अहिले काठमाडौं टावर निर्माण भइरहेको छ ।

२०७३ सालदेखि निर्माण सुरु गरिएको उक्त टावर अहिलेसम्म निर्माणधीन अवस्थामा नै रहेको छ । पुरानो बसपार्कमा टावर निर्माण कार्य सुरु भएदेखि खुलामञ्चमा काठमाडौं उपत्यका र राजधानी पूर्वका जिल्लाहरुमा सञ्चालन हुने यात्रुवाहक बसका लागि बसपार्कको व्यवस्था गरेको थियो ।

२०७८ वैशाख ९ गतेदेखि काठमाडौं महानगरपालिकाले खुलामञ्चको बसपार्कमा पनि सवारी साधन सञ्चालनमा रोक लगाएपछि उपत्यकामा सञ्चालन हुने बस र राजधानी पूर्वका जिल्लाहरुमा सञ्चालन हुने बसहरुलाई समस्या हुँदै आएको थियो ।

खुलामञ्चको बसपार्कमा ४० बढी यातयात कम्पनीका ६ सय बढी सवारी साधन सञ्चालनमा थिए । जसमध्ये करिब २८ कम्पनी छोटो दुरीका र १३ कम्पनीका मध्यम दुरीका सवारी सञ्चालन गर्दे आइरहेका थिए ।

राजधानी पूर्वका १३ बढी जिल्लामा यातयात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातयात कम्पनी प्रालिले यात्रुहरुलाई बसपार्क नहुँदा समस्या झेल्नु परेको र पिक एण्ड ड्रप गर्नका लागि पनि समस्या भएको भन्दै काठमाडौं महानगरपालिकालाई समस्या समाधानका लागि अनुरोध गर्दे आइरहेको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, पूर्व अरनिको यातयात प्रालिका पदाधिकारी र ट्राफिक महाशाखाबीच छलफलपछि पूर्व अरनिको यातयातले सिन्धुपाल्चोकमा छुट्ने बसहरुका लागि हाल निर्माणधीन टावर नजिकै टिकट काउण्टर राख्न अनुमति दिएको छ ।

काठमाडौं महानगरपालिकाले एक समयमा चार वटा मात्रै बस सञ्चालन गर्न पुरानो बसपार्कको प्रवेशद्वार छेउमा दुई वटा दक्षिण फर्केर र दुइ वटा गाडी पश्चिम फर्केर सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिकाले अनुमति दिएको पूर्व अरनिको यातयात प्रालिका अध्यक्ष चित्र कुवँरले जानकारी दिए ।

त्यस्तै, तिनकुने वागमती पुल छेउको टिकट काउण्टर हटाउने र पिक एण्ड ड्रपको मात्रै व्यवस्था महानगरपालिकाले गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।

महानगरपालिकाले गरेको नयाँ व्यवस्थाअनुसार अब काठमाडौं–चौतारा, काठमाडौं– जलविरे, काठमाडौं–बाह्रविसे, काठमाडौं–तातोपानी लगायत सिन्धुपाल्चोकका विभिन्न स्थानमा जाने सवारी साधानहरु अब पुरानो बसपार्कबाटै छुट्ने गरी आफुहरुले व्यवस्था मिलाएको अध्यक्ष कुवँरले जानकारी दिए ।

राजधानी पूर्वका १३ जिल्लामा अहिले आफूहरुको कम्पनीको दैनिक २ सय बढी बसहरु छुट्ने गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।

अन्य जिल्लाहरुमा छुट्ने बसहरुका लागि पनि काठमाडौ महानगरपालिका र ट्राफिक कार्यालय सँग समन्वय गरेर जडिबुटी नजिकै बसपार्कको व्यवस्था गर्न लागिएको अध्यक्ष कुँवरले जानकारी दिए ।

आफूहरुले लामो समयदेखि उचित स्थानमा बसपार्कको व्यवस्था गरदिन आग्रह गरेपनि कतैबाट सुनुवाई नभएको अवस्थामा अहिले भने काठमाडौं महानगरपालिकाको मेयर साहले थोरै भएपनि आफुहरुको माग सम्बोधन गरिदिएको अध्यक्ष कुँवरले बताए ।

बसपर्कमा टावर निर्माणको कार्य सकिएपछि भने पुर्व अरनिको यातयात कम्पनीका बसहरु त्यहीबाट सञ्चालन गर्न दिनका लागि महानगर सकारात्मक रहेको अध्यक्ष कुँवरले बताए ।


प्रतिक्रिया

One thought on “सिन्धुपाल्चोक जाने बसलाई पुरानो बसपार्कबाटै छुटाउने महानगरको अनुमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *