विवाहित नेपाली महिलालाई प्रेमिका बनाएर भारतबाट हेरोइन सप्लाई
काठमाडौं । रामेछापकी जुनमाई मोक्तान काठमाडौंमा श्रीमान् र छोरीसँग बस्दै आएकी थिइन् । तर छिमेकको घरमा डेरा गरेर बस्ने एक भारतीय नागरिकको प्रेम जालमा उनी परिन् ।
भारतबाट कपडा ल्याएर काठमाडौंका व्यापारीलाई उपलब्ध गराउने गरेका ती भारतीय नागरिक कै कारण जुनमाईको श्रीमान्सँग सम्बन्ध विच्छेद भयो । तर ती भारतीय नागरिकले जुनमायाको साथ छाडेनन् ।
उनलाई मासिक २० हजार रुपैयाँ कोठा भाडा तिरेर छोरीसहित बस्ने व्यवस्था गरिदिए । ती भारतीय भने नेपाल–भारत आउजाउ गरिरहन्थे । तर जुनमाईको दैनिकी भने फेरियो । उनको काम बन्यो– ती भारतीयले ल्याएको हेरोइन लोकल डिलर र सेवनकर्ताहरूलाई उपलब्ध गराउने ।
प्रहरीका अनुसार ती भारतीय एक पटकमा ५ सय ग्राम हेरोइन बोकेर नेपाल आउने गर्थे । ‘दिल्लीबाट कपडासहित ट्रेनबाट विराटनगर आउने र त्यहाँबाट कपडा पार्सल गरेर उनी भने हवाईजहाजबाट काठमाडौं आउने गर्दा रहेछन् । प्रारम्भिक अनुसन्धानमा कपडाभित्र लुकाएर हेरोइन ल्याउने गरेको पाइएको छ’, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोका ती अनुसन्धान अधिकारीले भने ।
यसरी भित्रिएको हेरोइनमा प्रतिग्राम ८ देखि १० हजार रुपैयाँसम्म फाइदा हुने गर्थ्यो। ‘नेपाल आएको केही दिनमै भारतीय फर्किहाल्दा रहेछन्’, ती अनुसन्धान अधिकृत भन्छन् । उनै ४० वर्षीया जुनमाई ३ सय ८४ ग्राम हेरोइनसहित पक्राउ परेकी छिन् ।
भारतीय नागरिक भारतमै रहेका बेला जुनमाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बाट पक्राउ परेकी हुन् । उनी दोषी ठहर भए जन्मकैदसम्मको सजाय हुने छ । प्रहरीले प्रेमी भनिएका भारतीयको पनि खोजी भइरहेको जनाएको छ ।