विमान प्रकरणबारे प्रहरी भन्छ : चोरीका आरोपी भाग्न लागेपछि उतारिएको हो
काठमाडौं । नेपाल प्रहरीले चोरीको आरोपी भाग्न लागेको थाहा पाएपछि उड्न लागेको विमानबाट उतारिएको जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले कैलालीबाट आरोपी भाग्न लागेको सूचना आएपछि तत्काल अप्रेसन गरिएको बताए ।
‘कैलाली प्रहरीले एक जना मान्छे भाग्न लागेको भन्ने सूचना दिएपछि हामीले ती व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेका हौं’, प्रवक्ता राईले नेपाल प्रेससँग भने ।
प्रहरीले नेपाल एअरलाइन्सको विमानबाट मुम्बई जान लागेका कैलालीका सुन व्यवसायी सन्तोष लामिछानेलाई विमानबाट उतारेको थियो ।
श्रीमानलाई निकालेपछि सँगै रहेकी सन्तोषकी श्रीमती पनि बाहिर निस्किएको प्रहरीले जनाएको छ ।
यता कैलाली प्रहरी प्रमुख सोमेन्द्रसिंह राठोरले सन्तोषले भारतबाट सुन चोरेर ल्याउने गरेको सूचना पाएकाले उनलाई समात्न आग्रह गरिएको बताए ।
‘सुन त बरामद भएको छैन । अब उहाँलाई ल्याएपछि अनुसन्धान हुन्छ’, एसपी राठोरले भने । सन्तोषविरुद्ध जाहेरी पनि नपरेको बताए । यद्यपि एसपी राठोरले सन्तोष पटके भएको दाबी गरे ।
मुम्बई उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको थियो ।
प्रहरी मुख्यालयको सूचनाका आधारमा दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान गरिएको थियो ।
दिउँसो उक्त जहाजको उडान दिउँसो १ः१० मा थियो ।
जहाजमा १४१ जना यात्रु रहेका थिए । चेकजाँचपछि जहाज पुनः मुम्बई उडेको थियो ।