बसाइसराइ वेदना : छोराछोरीलाई दिने उदाहरण छैन गाउँमा
अहिले देशका धेरै गाउँ ‘नगर’ अर्थात शहर भएका छन् । ‘नगर’ सुविधाको आधारमा छैन, सरकारी कागजातको आधारमा छ । जथाभावी घोषणाले गाउँहरु जबरजस्त नगर हुन पाएका छन् । सरकारले नगर घोषणा गर्न नसकेर गाउँ नै भएर रहन पाएको गाउँ हो मेरो गाउँ । मेरो गाउँ तेह्रथुमको मोराहाङ हो ।
मेन्छ्यायेम गाउँपालिकाको मुकाम मेरो गाउँ अहिले गाउँलेहरुकै मुकाम बन्न सकेको छैन । गाउँलेकै के कुरा मेरै मुकाम बन्नसकेको छैन । नागरिकतामा गाउँकै ठेगाना बोकेर देश-दुनियाँ डुल्ने म, गाउँ डुल्न धेरै वर्षपछि मात्रै गाउँ पुगे । साउन पहिलो हप्ताको पहिलो दिन म गाउँमा गएँ । गाउँमा पहिलोपटक सवारीमा पुगेको त्यही साउन १ गते नै हो । धरानबाट मोराहाङ ट्याक्सीमा ११ सय रुपैयाँ तिरेर पुग्दा सित्तै पुगेको अनुभव भयो । गाउँ छोड्नु अगाडि तीन घण्टा हिँडेर जिरिखिम्तीबाट मात्रै गाडी पाउने युगको भुक्तभोगीलाई गाउँमै गाडीमा जान पाउने कुरा सम्झिँदामात्रै सन्तुष्टि हुन्छ । त्यो सन्तुष्टिको अगाडि जतिसुकै शुल्क सानै हुन्छ । मलाई सानै भयो ११ सय रुपैयाँ ।
अरुबेला घरको कामले गाउँ गएको थिएँ । यो पटक आफ्नै कामले गाउँ गएको थिएँ । आफ्नै कामले पनि के भन्नु, खास कामै नभई गाउँ गएको थिएँ । राँके मेलाको पन्ध्र वर्ष अगाडिकै नोस्टाल्जिया खोज्दै गाउँ पुगेको थिएँ । गाउँमा राँकेको पुरानो अनुहार दिएन । राँके भर्न आउने लामा-लामा ताँतीहरु थिएनन् । राँकेमा हुने भीडभाड थिएन । राँकेको अवसरमा हुने फूटबल प्रतियोगिताको मैदान ठूलो थियो । तर, दर्शक दीर्घा ठूलो थिएन । राँकेलाई राँके जस्तो देखिने कुनै झल्को दिएन ।
राँकेमा भेटिने साथीहरु थिएनन्, साथीहरुको सम्झनामात्रै थियो । राँकेलाई गाउँ छोडिजाने साथीहरुले सम्झे सम्झेनन्, थाहा छैन । राँकेले साथीहरुलाई सम्झियो पक्कै । राँकेमा मोराहाङ, श्रीजुङ, पौंठाकदेखि टाढा-टाढाका धान नाच्न आउने सोल्टीसोल्टिनीले राँके सम्झे सम्झेनन्, थाहा छैन । राँकेले धान नाच्ने सोल्टीसोल्टिनीहरुलाई सम्झियो पक्कै । भीडविनाको राँके के राँके ? साथीहरुविनाको राँके के राँके ? धान नाँचविनाको राँके के राँके ?
खासमा गाउँबाट गाउँ हराउँदै गएको बुझ्न गाउँमा घरदैलो गर्नै नपर्ने रहेछ । हरेक वर्ष लाग्ने राँकेको अनुहार एक झल्को हेरे पुग्ने रहेछ । राँकेमा नदेखिएको गाउँलाई घर–घरमा पुगेर देख्ने कुरै आएन । हो, यस्तै भयो गाउँमा डुल्दा । गाउँमा घर छन् । घरमा मान्छे कम छन् । कोही वैदेशिक रोजगारमा छन्, कोही शहरमा गएका छन्, कोही जिल्ला सदरमुकामा गएका छन् । कतै न कतै गएका छन् । तर, गाउँबाट गाउँमै गएका छैनन् । गाउँ नछोडी इलम गर्न बाहिरिएकाहरु गाउँमै आउने कुनै ग्यारेन्टी छैन ।
वैदेशिक रोजगारमा गएकाहरुलाई गौंडा-गौंडामा बसेर लोभ्याएर घडेरीमा लाखौं खन्याउन लाउने जदहरु छन् । जदहरुले उनीहरुलाई गाउँसम्म फर्कन दिने सम्भावना कम छ । जद अर्थात् जग्गा दलालले गाउँमा केही लाखमै इलम गर्न सकिने सम्भावना देखाउँदैनन् । ठूलो सम्भावना घडेरीमा हालेर लाखौं पैसा कमाउने सपना देखाउँछन् । सामान्य आम्दानी भएको मान्छे मख्ख पर्छन् । केही पैसा घडेरीमा हाल्छ । केही वर्षपछि घर बनाउँछ । घरले आम्दानी दिँदैन । फेरि घर चलाउन विदेशै जान्छ । विदेशदेखि विदेशसम्मको चक्रव्यूहले यस्तो बनाउँछ कि उसले ‘चालीसपछि रमाउन’ पनि पाउँदैन । यस्तो नपाउने लाखौं अनुहारहरुको आँकडा सरकारसँग छैन, गाउँसँग छ । गाउँको तीतो सम्झनासँग छ ।
बजार गएका वा तराई गएका अथवा सदरमुकाम गएकाहरुको समेत गाउँसँग संवाद कम हुन्छ । उनीहरु आफू बसेकै माटोमा टाँसिन्छन् । टाँसिन बाध्य हुन्छन् । र, उनीहरु गाउँ जाँदैनन् । त्यसको एक उदाहरण म आफैं हुँ ।
घरमा मान्छे छैनन् । घर खाली छन्, अस्थिपञ्जरमात्रै छ । घरको प्राण छैन । प्राणविहीन घरहरु भएका गाउँ एक संग्रहालय जस्तै भएको छ ।
बसाइसराइको तथ्यांक कहालीलाग्दो छ । २०७४ सालदेखि अहिलेसम्म गाउँका २४४ परिवारको ७३० जना बसाइ सरेर गएका छन् । पालिकाको तथ्यांकमा गाउँबाट औपचारिक रुपमा बसाइसराइ गर्नेमात्रै अटाएका छन् । हाम्रो परिवार जस्तो गाउँमा घर भएर पनि हाल तराईमा बस्नेहरुको आँकडा यो तथ्यांकमा आउँदैन ।
६ वटा वडा भएको गाउँपालिकामा १ र २ वडा साबिकको पौठाका गाविस, ३ र ४ श्रीजुङ गाविस तथा ५ र ६ वडा साविक मोराहाङ गाविसका वडा हुन् । वडा नम्बर १ मा साविक पौठाकका वडा नम्बरहरु १-४ पर्छन् । वडा नम्बर २ मा साविक पौठाककै ५-९ वडा नम्बर पर्छन् । वडा नम्बर ३ ले साविक श्रीजुङका ७-९ वडा समेट्छ । वडा नम्बर ४ ले श्रीजुङकै साविक १-६ वडा समेट्छ । वडा नम्बर ५ मा मोराहाङका साविक वडाहरु १, २, ३, ७ र ८ पर्छन् । वडा नम्बर ६ मा मोराहाङकै साविक ४, ५, ६ र ९ पर्छन् ।
सबैभन्दा धेरै बसाइसराइ हुने वडा नम्बर ५ र ६ नै पर्छन् । वडा नम्बर ५ का ५१ घरका १५९ र वडा नम्बर ६ का ४६ घरका १६१ जना बसाइ सरेका छन् । वडा नम्बर २ र ४ का समान ४३ परिवारका क्रमशः १३९ र ९२ जना बसाइ सरेका छन् । वडा नम्बर ३ का ३२ घरका ९९ जना र वडा नम्बर १ का २९ घरका ८० जनाले बसाइ सरेको मेन्छ्यायेम गाउँपालिकाको तथ्यांक छ ।
मेन्छ्यायेम गाउँपालिका जस्तो थोरै जनसंख्या भएको पालिकामा यो डरलाग्दो तथ्यांक हो । जनगणना २०७८ अनुसार गाउँपालिकाको जनसंख्या ६ हजार ६९८ जना देखिन्छ । यो तथ्यांक १० वर्ष अगाडिको भन्दा कम हो । जनगणना २०६८ अनुसार यहाँकोे जनसंख्या ८ हजार ७८ थियो । दश वर्षमा गाउँको जनसंख्या १ हजार ३८० घट्नुमा बसाइसराइकै प्रमुख कारण योगदान छ ।
गाउँमा मान्छे हुँदै नभएको हैन । मान्छेहरु छन् । जस्तो कि ५० नाघेका धेरै मान्छे गाउँमा छन् । विद्यालय पढ्दै गरेकाहरु गाउँमा छन् । बुढाबुढी त गाउँमा धेरै नै छन् । भएकाहरु गाउँमा खुशी छैनन् । खुशी भएको अभिनयमा छन् । खुशी राजनीति गर्नेहरु होलान् ।
खुशी सरकारी जागिर खाएर गाउँमै बसेकाहरु होलान् । खुशी गाउँघर भ्याएर शिक्षण गर्नेहरु पनि होलान् । तर, उनीहरु पनि खुशी छैनन् । खुशी भएको भए उनीहरुले आफ्नो कमाइको लाखौं रकम गाउँ बाहिर लगानी गर्दैनथे । बुढेसकालमा गाउँमै अडिने सम्भावना कम देख्दैनथे ।
गाउँमा दुःखी हुनेहरु सुविधा नभएर भएका हैनन् । गरिब भएर दुःखी भएका हैनन् । गाउँमा सुविधा छ । पहिले तीनचार घण्टामा पुगिने गाडीको बाटो गाउँमै आएको छ । धेरैको त आँगनमै आएको छ । एमबीबीएस गरेका डाक्टर गाउँमै आएका छन् । पहिले जस्तो सदरमुकाम पुगेरमात्रै एमबीबीएस डाक्टर हेर्ने अवस्था अन्त्य भएको छ । हातहातमा मोबाइल छ । बजार-बजारमा इन्टरनेट छ । गाउँमा तेह्रथुम पावर कम्पनीको जलविद्युत योजनासमेत आएको छ । योजनासँगै धेरैले सेयरधनी हुने मौका पाएका छन् । गाउँका चौपाया, अन्नबालीदेखी रुख-बुट्यानसम्मको दाम बढेको छ । बजार गाउँ खोज्दै आएको छ । यतिका कुरा गाउँमा आएर पनि गाउँ गाउँबाटै किन गयल छ ?
यसबारेमा कुरा गर्दा राँके बजार भर्न आएकी लिम्बूनी बोज्यू साथीसँग भन्दै थिइन्, ‘पहिले गाउँमा सुविधा थिएन, मान्छे थिए । अहिले सुविधा छ, मान्छे छैनन् ।’
गाउँमा गाउँ छोड्ने या भनौं गाउँको विकल्प शहरमा घरघडेरी जोड्ने यस्तो ट्रेन्ड छ कि त्यो ट्रेन्डमा नपर्नु ‘पछि’ परेको जस्तो सामाजिक मनोविज्ञान निर्माण भएको छ । पहिले-पहिले विद्यालय शिक्षासम्म गाउँमै पढाउनेहरु अहिले त्यसो गर्न झन्झट मान्छन् । कममात्रै गाउँका भीआईपीहरुका सन्तान गाउँका विद्यालयमा पढ्छन् । एक दशक अगाडिसम्मको दृश्यमा पूरापूर बदलिएको छ ।
मेरै उदाहरण दिउँ, म कक्षा ९ सम्म पढेको गौखुरी स्कुलमा मेरा सहपाठी गाउँका भीआईपीकै छोराछोरीहरु थिए । जस्तै स्कुलका प्रधानाध्यापक विश्वराज खापुङका छोरा लावण्यविक्रम सिंह लिम्बू (राजु) मेरा सहपाठी थिए । स्कुलका पुराना सर सत्यनारायणका नाति राजकुमार गुप्ता मेरै सहपाठी थिए । गाउँमै बसेर पौंठाक स्कुल पढाउने शिक्षक डेनु गौतमका छोरा विवेक गौतम मेरै कक्षासाथी थिए । शिक्षक बद्री गौतम पुत्री सीता गौतमदेखि पूर्व गाविस उपाध्यक्ष केशव गौतम पुत्री निलम गौतमसम्म मेरै कक्षाका साथी थिए । अहिले यस्ता सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्वका छोराछोरीहरु गाउँकै विद्यालयमा पढ्ने नजीर दुर्लभ देखिए ।
पहिले पो सशस्त्र द्वन्द्व थियो । द्वन्द्वको भयले तराई अनि शहर सर्न एउटा कारण हुन सक्थ्यो । अहिले त देशमा द्वन्द्व र युद्ध केही छैन । तर, गाउँ छोड्ने गति युद्धस्तरको छ । यो गतिका पीडित धेरै छन् । मसँग गाउँकी एक भाउजू भन्दै थिइन्, ‘छोराछोरीलाई यस्तो बन भन्ने उदाहरण गाउँमा छैनन् ।’
गाउँमा प्रभावशाली जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक, प्रहरी र ठेकेदार तथा नेताहरुमात्रै छन् । प्रभावशाली नागरिकहरु छैनन् । जस्तो भूपू गोर्खा सैनिकदेखि शिक्षकहरु गाउँमा कमै छन् । गाउँकै लब्ध प्रतिष्ठित व्यापारीदेखि सामाजिक अगुवाहरु छैनन् । आम सर्वसाधारणमात्रै गाउँमा छन् । तेजिला पढ्दै गरेका विद्यार्थीहरु कम छन् गाउँमा । पढेर गाउँमै केही गरेकाहरु झन कम छन् । कुनै प्रतिष्ठित पेशाबाट अवकाश भएर गाउँ बसेका त झनै छैनन् भन्दा हुन्छ । त्यसको असर गाउँको आम मनोविज्ञानमै परेको छ । जसको उदाहरण भाउजूले भनेको मार्मिक कुरा ‘छोराछोरीलाई यस्तो बन भन्ने उदाहरण गाउँमा छैनन्’ आफै हो ।
श्रीजुङका विष्णु भण्डारीले बसाइसराइ गाउँकै टाउको दुःखाइ भएको सुनाए । २०१० सालमै गौखुरी स्कुल स्थापना गरेको गाउँ कमजोर पक्कै हैन । अहिलेका संघीय स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रदेश प्रमुख परशुराम खापुङ, त्रिभुवन विश्वविद्यालयका चिनिएका प्राध्यापक डाक्टर राजकुमार भट्टराईलगायत दिग्गज जन्माएको गाउँ हो मेरो गाउँ । यही स्तरको शैक्षिक, राजनीतिक, प्राज्ञिक ओज गाउँले बोक्ने भविष्यलाई बसाइसराइको लर्कोले चुनौती थपिदिएको छ ।
हुन त बसाइसराइ हुनु नराम्रो हैन । तर, जानेकै हाराहारीमा आउनेहरु हुनुपर्छ । मेरो गाउँमा यो अवस्था छैन । जस्तै, २०७४ सालदेखि हालसम्म २२ घरका ५७ सदस्यमात्रै गाउँमा फर्केका छन् । २४४ घरका ७३० जनाले बसाइ सरेको गाउँमा यो नगन्य संख्या छ । पालिकाका ६ वटा वडामा बसाई सरेर आउनेको संख्या थोरबहुत छ ।
वडा नम्बर २ मा पछिल्लो ६ वर्षमा ४३ घरका १३९ सदस्यले बसाइ सरेर गाउँ छाडे । गाउँमा बसाइ सरेर भने एकजना पनि नआएको तथ्यांक छ । यो वडा नम्बर २ को लागि मात्रै हैन, सिंगो गाउँपालिकाकै डरलाग्दो तथ्यांक हो । यो तथ्यांक मिलाउने पालिकाले सोच्नुपर्ने देखिन्छ । कसो गरे गाउँमा गाउँले कम होलान् भन्नेमा मोराहाङ ५ की मेरी तल्लाघरे ८८ वर्षकी बढेमा रम्भादेवी गौतमको सुझाव मननीय छ । उहाँ भन्नुहुन्छ, ‘बसाइसराइ होस् । तर, घर खाली नहोस् ।’
सुन्दर लेख्नु भएछ बिराट जि,मेन्छ्यायेम गाउपालिकाको नाम पनि मन पर्यो। तथ्याङ्क सहित पढ्दा झन स्पस्ट भइयो। गाउको फोटा सुन्दर लागे।
लेख धेरै हदसम्म यथार्थपरक नै छ। धेरै त अवसर नपाएरै बसाई हिडे र हिड्दै छन्। अवसर पाएकाहरुले पनि बसाइँ सराइ नै रुचाएका छन्। यो स्वभाविक नै हो किनकी हरेक ब्यक्ति नयाँ खोज्छ।
तैपनि लेखले बसाइँसराइका तमाम बस्तुपरक/तथ्यपरक कारणहरु उजागर गर्न सकेको छैन। जस्तै: भएका अवसरमा समानुपातिक र स्वच्छ प्रतिस्पर्धात्मक बितरण प्रणाली बिकास हुन सकेको छैन। गौखुरी मा वि को लागि अतुलनिय योगदान भएका कमल नारायण झा जस्ता ब्यक्ति त उत्तरार्धमा बिरक्तिए भन्ने सुनियो। एकपटक बिरक्तिएर ठाउँ छोडेपछि मान्छे बिरलै फर्किन्छ जसको एउटा ज्वलन्त उदाहरण माओबादी अतिबादले खेदिएकाहरु। अन्य धेरै कारणहरु छन् जसले गर्दा सहर पसेका र तराइ झरेकाहरु गाउँ/ठाउँ फर्किन चाहदैनन् वा आट गर्दैनन्। त्यहाँको नेतृत्वले कारण पहिल्याएर रोक्न सक्नुपर्छ, हिडेपछी फर्किने सम्भावना अत्यन्त न्यून रहन्छ।
यथार्थ र मर्म काे नजिक अनि अाफु ठालु नबनि अात्म बृतान्त कहनेे शक्ति उदाहरण ,स्पष्ट , भाषा शैली र बगाई गजब भाई
लेख प्रस्ट र सहि लाग्यो भाइ, खोइ त्यस्को उधाहरण हामिनै हुम, तपाइको लेखले मन छोयो मैले चाहिँ गाउँ फर्कने अठोट गरेकोछु !👍️